सिक्टाबाट २२ हजार हेक्टरमा सिँचाइ सुविधा

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १४:१६
 

नेपालगञ्ज : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँके जिल्लाको ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पुर्याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ निर्माण भइरहेको आयोजनाबाट हालसम्म करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

नेपाल सरकारको आफ्नै लगानीमा आर्थिक वर्ष २०६२/६३ देखि निर्माण थालिएको आयोजना आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको जनाउँदै आयोजना प्रमुख देवराज निरौलाले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । उनले हालसम्म पूर्वी र पश्चिमी भूभाग गरेर करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र अन्य लक्षित भूभागमा पानी पु¥याउने कार्यका लागि निर्माण चलिरहेको बताए ।

सिक्टा सिँचाइ आयोजनाका अनुसार, राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा मुख्य बाँध निर्माण गरी आयोजनाको काम अघि बढाइएयता करिब साढे २० अर्ब रुपियाँ खर्च भएको छ । मूल बाँध र पश्चिमी नहर निर्माणको काम सम्पन्न भइसकेको छ भने बिचमा रोकिएको निर्माणाधीन अवस्थामा रहेको पूर्वी नहरको काम पनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख निरौलाले पूर्वी नहर साढे ३७ किलोमिटर निर्माण सम्पन्न भई पानीसमेत बगाई सिँचाइ सुविधा प्रदान गरिएको बताए ।

उहाँले थपे, “५३ किलोमिटर लामो पूर्वी नहर अन्तर्गत साढे ३७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ, साढे सात किलोमिटरमा रेखाङ्कनको काम भएको छ, बाँकी आठ किलोमिटरमा सर्भे र डिजाइनको काम भइरहेको छ ।” आयोजनाका अनुसार पूर्वी नहरबाट नौ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य रहेकामा हालसम्म चार हजार दुई सय हेक्टरमा सिँचाइ पुगेको छ । ४५ किलोमिटर लामो पश्चिमी मूल नहरको निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।


सो नहरबाट करिब १८ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । अहिले जेठीनालासम्म पानी छाडिएको छ । केही ठाउँमा घुलनशील माटो भए पनि नहर भत्किन सक्ने जोखिम भने नरहेको आयोजनाले जनाएको छ । यस पटक सोही नहरबाट गहुँमा पानी चलाइएको आयोजना प्रमुख निरौलाले जानकारी दिए । उनले हिउँदे वर्षा नभएपछि गहुँ खेती गर्न नसकेका सर्वसाधारण र किसानले सिक्टाको पानी पाएपछि समयमै गहुँ खेती गर्न सफल भएको बताए ।

नहर बनाउने बेलामा दिनुपर्ने मुआब्जा रकमको अभाव भने झेलिरहेको छ । आयोजना प्रमुख निरौलाले भने, “यो अभावलाई कसरी सम्बोधन गर्ने भनेर विभागस्तरीय छलफल गरेर अर्थ मन्त्रालयसँग रकम माग गरिसकेका छौँ, रकम आएपछि अघि बढाउँछौँ ।”

पर्याप्त बजेटको व्यवस्था, नीति नियम र कानुनको सहजीकरण, जनशक्ति व्यवस्थापन भए निर्धारित समयमै काम सम्पन्न गरिने नत्र फेरि अप्ठ्यारो हुने उनले बताए । ३२ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको काम सम्पन्न भएपश्चात बाँकेमा १७ हजार घरधुरीका चार लाख जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मामा भान्जा चाउमिन उद्योगलाई कारबाही

२३ माघ २०८०, मंगलवार १४:१६
नेपालगञ्ज : बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उपभोक्ताले गरेको गुनासोका आधारमा सोमबार उक्त […]