दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीद्वारा छड्के जाँच

सदरलाइन संवाददाता २२ माघ २०८०, सोमबार १३:५६
 

नेपालगञ्ज : बाँकेमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना हुने स्थानको पहिचान गरि सचेतना अभियान सञ्चालन गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाई दुर्घटना हुनबाट जोगाउन जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

उनले बेलुकीको समयमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने क्रम नरोकिएकोले उक्त समयमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई निरन्तरता दिएको बताए । सवारी चालकलाई जिम्मेवार बनाउने अभियान अन्तरगत मापसे र लापसे जाँच तथा गति सिमित गर्न सवारी चालकलाई सचेत गराउँदै आएको उनको भनाई छ ।

‘पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–नेपालगञ्ज सडक खण्डसँगै दुर्घटना धेरै हुने ठाउँको पहिचान गरि सचेतना अभियान थालेका छौँ,’ उनले भने । उनले अभियान अन्तरगत पैदल यात्रु र साइकल चालकलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउँदै आएको बताए । ‘पैदलयात्रुलाई सडक पेटीमा हिड्न र जेब्राक्रसिङबाट बाटो काट्न पनि सिकाउँदै छौँ,’ सुवेदीले भने ।


बढ्दो दुर्घटना न्यूनीकरणमा चालकहरुको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने भएकाले ट्राफिक प्रहरीले बेलाबखत सचेतना मुलुक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालको निर्देशन अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले पनि चेकजाँचमा कडाई गरेको छ । नियमित चेकजाँचसँगै छड्के जाँच गर्दै आएको ट्राफिक प्रहरी सहायक निरीक्षक दिलबहादुर शाहीले बताए । उनले रातको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने भएकोले उक्त समयमा छड्के जाँचलाई निरन्तरता दिएको बताए ।

ट्राफिक प्रहरी सहायक निरीक्षक शाही आइतबार राती छड्के चेकजाँचमा खटिए । शाहीको कमाण्डमा खटिएको टोलीले ६ जनालाई कारवाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज बरिष्ठ ट्राफिक प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिए । कारवाहीमा पर्नेमध्ये चार जना मापसे गरेका र दुई जनासँग कागजपत्र नभएको आचार्यले बताए । ‘छड्के जाँच गर्ने वित्तिकै कोहि न कोहि कारवाहीमा परिहाल्छन् । त्यसैले नियमित चेकजाँचसँगै मौका र समय मिलाएर छड्के जाँच पनि गर्छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारीले मनायो २६औं स्थापना दिवस

२२ माघ २०८०, सोमबार १३:५६
कोहलपुर (बाँके) : प्रेस चौतारीले २६औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजित स्थानिय निकायको विकास सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी आफ्नो सथापना दिवस मनाएको हो । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मुल नाराका साथ कोहलपुर नगर कमिटिले २६औं स्थापना दिवस मनाएको हो […]