नेपालगञ्ज प्रहरी अस्पतालमा उपचार लिनेको संख्या बढ्दै

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १७:०८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एक वर्षमा २८ हजार बढीलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले गत आर्थिक वर्ष २०७९/०८० मा उक्त अस्पतालमा २८ हजार ६८१ जनाको उपचार गरिएको बताए । ती मध्ये १५ हजार ७७४ जना लुम्बिनी प्रदेशका र १० हजार ३८ जना कर्णाली प्रदेशका प्रहरी बिरामी रहेका थिए । यसैगरी, अन्य प्रदेशका दुई हजार ८६९ जनाको पनि सो अस्पतालमा उपचार गरिएको थियो ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा २१ हजार ६६० जनाले सो अस्पतालबाट उपचार सेवा पाएको र आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार २४२ जनाले उपचार सेवा पाएको लुम्बिनी प्रदेश अस्पतालले जनाएको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ ।

उनका अनुसार नेपा प्रहरी अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ ।


सो अस्पतालमा आकस्मिक सेवा, जनरल ओपिडी, अर्थोपेडिक, मेडिसिन, इएनटी र डेन्टल सेवाको ओपिडीसँगै ल्याब सेवा र एक्स–रे सेवा सञ्चालनमा रहेको छ । छाला तथा यौनरोग, प्रसूति तथा स्त्री रोग उपचार सेवा, सर्जन र मानसिक सेवाका लागि बाहिरबाट विशेषज्ञ चिकित्सकलाई निरन्तर बोलाएर उपचार सेवा प्रदान गर्ने गरिएको अस्पतालका निर्देशक एसएसपी श्रेष्ठले बताए ।

यसकासाथै प्रहरी अस्पतालले रिफर गरेका बिरामीको उपचार विशेष छुटका साथ गर्ने गरी नेपालगञ्ज मेडिकल कलेजद्वारा नेपालगञ्जमा सञ्चालित नेपालगञ्ज शिक्षण अस्पतालसँग सम्झौता गरिएको उनले बताए ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएपनि जनशक्ति र भौतिक पूर्वाधारको सबैभन्दा ठुलो समस्या रहेकोले सोतर्फ सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

१८ माघ २०८०, बिहीबार १७:०८
सल्यान : सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद […]