नेपालगञ्ज : गुलरिया नगरपालिका–२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाट गर्न आएका तिरूवालाई जाँच गर्ने क्रममा काँचो माछाभित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने २४ वर्षीय किरण पुन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी र सानोश्रीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित भारत बहराईच बस्ने २६ वर्षीय अजिज शेषलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।