राप्तीनदीको सरसफाइमा जुटे युवा

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १८:१३
 

नेपालगञ्ज : बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लास्टिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।

वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् । ‘ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्ज’का युवाले नदी सरसफाइका लागि अभियान बनाएर काम गरिरहेका अभियानका प्रमुख डा.विनोद कर्णले बताए ।

ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्जका संस्थापक अध्यक्षसमेत रहेका कर्णले यस वर्षको दसैँ तिहारलगायतका विभिन्न चाडपर्वका अवसरमा नदीमा मूर्ति विर्सजन गर्दा भएको फोहर व्यवस्थापनका लागि युवाले सरसफाइ गरेको बताए । “हाम्रो अभियान भनेको नेपालगञ्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, उनले भने ।


नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने कर्णले बताए । “यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जाग्छ । फागुनको पहिलो हप्तासम्म संकलन भएको फोहर फोहर व्यवस्थापन गरी सक्छौँ ।” अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उनले बताए ।

अभियानमा विमल प्रधान, महेश श्रेष्ठ, काशिम सिद्धिकी, किशोर केसी, उमेश शाह, नकुल खत्रीलगायत युवाको सहभागिता छ । अभियन्ता विमल प्रधानले नेपालगञ्जको पहिचानसँग जोडिएको राप्ती नदी सरसफाइ यहाँका युवाको जिम्मेवारी भएको बताए । “राप्ती नदी धार्मिकस्थलका रुपमा मात्र नभई आन्तरिक पर्यटकसँग पनि जोडिएकाले यसको सरसफाइमा हामीले ध्यान दिनैपर्छ,” उनले भने, “नदी वरपरको फोहर व्यवस्थापन गर्नु सजिलो छैन ।”

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा–४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचार गराउन भारत गएका युवक आठ दिनपछि भेटिए

६ माघ २०८०, शनिबार १८:१३
नेपालगञ्ज : भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । भारतको लखनउस्थित राम मनोहर लोहिया अस्पतालमा दाङ ढिकपुर –४ निवासी प्रकाश […]

सम्बन्धित