बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन सकेन

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १५:३०
 

नेपालगञ्ज : स्थापनाको लामो समय बित्दा समेत बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन सकेको छैन । हालसम्म आन्तरिक पूर्वाधार निर्माण मात्रै ध्यान दिइरहेको निकुञ्ज प्रशासनले अब भने पर्यटक बढाउने ‘रोडम्याप’ अनुसार अघि बढ्ने भएको छ ।

निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाह भन्छन्,–‘बाँके निकुञ्जमा पर्यटकलाई जाउँ जाउँ लाग्ने बनाउँदै छौं ।’ देशकै कान्छो निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीति बनाएको हो । बर्दिया निकुञ्ज पछि बाँके निकुञ्ज लुम्बिनी प्रदेशको दोस्रो निकुञ्ज हो । बर्दियामा पर्यटकिय गतिबिधि बढिरहेको भएपनि बाँके निकुञ्ज भने बामे सर्दै छ । अब भने पर्यटकिय गतिबिधि बढाउने गरी काम भइरहेको निकुञ्ज प्रमुख शाह बताउँछन् ।

बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । तर त्यसलाई परिस्किृत गरेर पर्यटक तान्न सकिएको छैन । निकुञ्ज प्रमुख शाह भन्छन्,–‘हालसम्म जे जस्तो भए पनि अबको दुईवर्षभित्र चुरेको बाटो खोल्ने, सम्भावना भएका सबै प्रवेशद्धारबाट पर्यटनको गतिबिधि सञ्चालन गर्ने योजना बनाएका छौं ।’

उनले ओभरीबाट पर्यटकीय गतिबिधि, वनपथ, पानी, घाँसेमैदान सुधार र संचालनमा आउन बाँकी पोष्ट संचालन भने तत्काल गर्ने बताएका छन् । बाँके निकुञ्जसंगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरी बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भएपनि त्यहाँबाट आउनेहरुलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए । ‘भारतीय पर्यटकलाई आर्कषक गर्ने गरी कामहरु गर्नुपर्नेमा अनेक अड्चन गरिने गरिएको छ ।’– उनले भने ।

गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म ल्याउने गरी काम हुने निकुञ्ज प्रमुख शाह बताउँछन् ।


बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुन्जमा प्रशस्त छन् । ११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तानधारी, ५० दुर्लभ सहित ३ सय किसिमका पन्छी, २ दुर्लभसहित २४ घस्रने, ५ दुर्लभसहित ५५ बढी प्रजातीका माछा गरी चारसय २२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुन्जमा छन् ।

निकुन्ज तराईं, भावर र चुरे क्षेत्रमा फैलिएकोले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुन्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए । निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ¥याफटिङको व्यवस्थाका लागि संभाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।

गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जंगल ड्राइभको व्यवस्था गरिएको छ । गाभर भ्याली होमस्टे क्षेत्रका रुपमा विकास हुँदै छ । गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्दै आएका छन् ।

वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रम का लागि होमस्टेको लोकप्रियता बढदै गएको छ । हाल पाँचवटा घरमा होमस्टेको सुविधा रहेकोमा यो वर्षभित्रै थप दशवटा घरमा होमस्टे विस्तार गर्ने योजना रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् ।

होमस्टेमा हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी उपलब्ध छ । होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगञ्ज उपमहानगर अनभिज्ञ

२९ पुष २०८०, आईतवार १५:३०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण सामग्री (गिट्टी, मोरङ, बालुवा, इट्टा, छड) सडकमा राख्न नपाइने नियम बनाएको छ । छोटो समयका लागि राख्नै पर्ने भएमा वडा कार्यालय र उपमहानगरबाट अनुमति लिनुपर्ने हुन्छ । तर, नेपालगञ्ज उपमहानगरपालिकाले आफूले बनाएको नियम आफूले कार्यान्वयन गराउन सकिरहेको छैन । सडक अवरुद्ध हुने गरि निर्माण सामग्री […]

सम्बन्धित