नेपालगञ्ज : बाँकेमा सहकारी रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड नेपालगञ्जको रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि पाँच वर्ष कैद सजाय र चालिस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना तोकेको हो ।
कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति पदाधिकारी र कर्मचारीहरु रहेका छन् । अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराध संहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको हो ।
न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लिलाप्रसाद वली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ । रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख पाठकबाट २४ करोड ९१ लाख बिगो, प्रमुख प्रबन्धक भण्डारीबाट ४ करोड ४८ लाख ९ सय ५९ रुपैयाँ बिगो तथा व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी सुवेदीबाट २ करोड ८३ लाख ७३ हजार २ सय ९५ रुपैयाँ बिगो भराउन आदेश दिएको छ ।
यस्तै गौरवकुमार श्रेष्ठ र बलराम यादवलाई चार वर्ष कैद र चालिस हजार जरिवाना तथा रविन्द्र थापालाई तीन वर्ष कैद र पचास हजार जरिवाना, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद र पचास हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पचास हजार जरिवाना, शारदाकुमारी थापा मगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पचास हजार जरिवाना तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ ।
यो मुद्दामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ३८ करोड अपचलन मुद्दामा अरुले सफाई पाएका छन् । ७ जना कारागारमा छन् । ११ हजार ४ सय ८ जना निक्षेपकर्ता रहेको उक्त सहकारीमा ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । चार वर्षपछि अदालतले फैसला सुनाएको हो । बचतकर्ताहरुले जम्मा गरेको ३८ करोड हिनामिना भएपछि सहकारी वित्ती विकास संस्था २०७६ असोजदेखि बन्द छ ।