नेपालगञ्जको सहकार्यमा राससमा अवधीमा समाचार शुरु

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १८:०९
 

नेपालगञ्ज : राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गरेकी हुन् ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए

नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा अवधी भाषाको समाचार सेवा सुरु गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिए । उनले मातृभाषामा समाचार सम्प्रेषण गरेर राससले राज्यको समावेशी नीतिलाई प्रवद्र्धन गरेको बताए ।


राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय २४ मातृभाषा रहेकामा मध्यपश्चिम तराईमा बोलिने अवधी भाषी कूल जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत छन् ।

यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्दै आएको थियो । अन्य मातृभाषामा समाचार सेवा सुरु गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको महाप्रबन्धक राईले जानकारी दिए ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने उनको विश्वास छ । मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

२३ पुष २०८०, सोमबार १८:०९
नेपालगञ्ज : एक सातादेखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर बनेको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । अत्यधिक चिसोले […]

सम्बन्धित