नेपालगञ्ज : पीडित पक्षले सडकमा टायर बालेर प्रर्दशन गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।
कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सु.प्र.प्र. ०१–००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिदाँ अंग्रेजी नयाँ वर्ष मनाएर फर्किदै गरेका २२ वर्षिया आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी अर्की २४ वर्षीया साहना शाह पनि घाइते भएकी थिइन् । आफन्तका अनुसार कैलाली निवासी आस्था नेपालगन्जमा बस्दै आएकी थिइन्, भने मायाराम होटल सिद्धार्थमा कार्यरत थिए ।
दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरी, प्रशासनले घटनाको वास्तविकता लुकाएर दोषीलाई बचाउन खोजेको भन्दै मृतकका परिवार तथा आफन्तले दुर्घटना भएको स्थलमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । बिहान करिव साढे ११ बजेतिर अवरुद्ध भएको सडक अहिलेसम्म खुलेको छैन ।
अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले बताएका छन् । ‘दुर्घटनाबारे हामीले पीडित पक्षलाई सबै कुरा जानकारी गराएका छौं, हामी कानुन बमोजिम नै अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
प्रहरीले बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन पठाइरहेको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेका चालकसहित स्कारपियोमा अन्य युवा र युवती पनि सवार थिए । ति युवती युवती को हुन् भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन ।