लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइ

सदरलाइन संवाददाता १५ पुष २०८०, आईतवार १४:४२
 

नेपालगञ्ज : पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । सोक्रममा जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालक तथा यात्रुहरुले लागूपदार्थ सेवन गरेको, नगरेको परीक्षणलाई तीव्रता दिनुका साथै कारवाही पनि अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जिल्लामा दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेको नगरेको परीक्षण भइरहेकै बेला हाल आएर लागुपदार्थ सेवन गरे नगरेको पनि परीक्षण सुरु गरिएको बताए ।

उनले सीमापारी जानेले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउँदै आउनेगरेको खबर प्राप्त भएकाले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले भारत जाने र आउने मुख्य चोक ट्राफिक चोकनजिक सो चेकजाँच गरेको बताए । उनले जाँच गर्दा नौ जना सवारी चालक तथा यात्रुहरुले लागुपदार्थ सेवन गरेको पाइएको हुँदा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याई कारवाही प्रक्रिया अघि बढाइएको बताए ।


लागुपदार्थ सेवन गरेको नगरेको पत्ता लगाउन सुरु गरिएको परीक्षण निरन्तर जारी रहने जनाउँदै डिएसपी डाँगीले जमुनाहा नाकादेखि उत्तरतर्फ फरक ठाउँ र फरक समयमा यो परीक्षण जारी रहने बताए । बाँकेमा हुनेगरेका अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनेगरेको हुँदा प्रहरीले गति नियन्त्रणमा ध्यान दिनुका साथै मापसे र लापसे गर्नेहरुमाथि कडा निगरानी राख्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक र अन्य सर्वसाधारणलाई समेत सचेत पार्नु अति आवश्यक देखिएकाले सो अभियान पनि निरन्तर जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कब्जामा रहेको सरकारी भवन खाली गराइयो

१५ पुष २०८०, आईतवार १४:४२
नेपालगञ्ज : बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ । पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका –१५ पिप्रहवास्थित होल्डिङ् यार्डभित्र रहेको एकतले पक्की भवन वर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जामा लिई अनाधिकृत रुपमा […]