टिपर गुडेपछि कालोपत्रे सडक जोखिममा

सदरलाइन संवाददाता ११ पुष २०८०, बुधबार १३:४९
 

नेपालगञ्ज : बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखा अगाडी कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन् । कालोपत्रे सडक भएर दैनिक रुपमा सयौंको संख्यामा नदीजन्य सामाग्रीहरु ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्छन् ।

एकाबिहानैदेखि राती अबेरसम्म टिपरले चुहाएको पानी सडक भरी रहन्छ । जसले गर्दा सडकको गुणस्तर चाडै खस्किएर भत्किने हो कि भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताएको छ । ‘बाटो जब पिच भयो, त्यसपछि ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्न थालेका छन्,’ रोकाक्षेत्रीले नागरिकसँग भने ‘यसरी पानी चुहाउँदै टिपर गुड्ने हुन भने यो सडक धेरै दिन टिक्दैन ।’ पिपल चौतारा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले भर्खरै बनेको कालोपत्रे सडकमा टिपर आतंक बढेपछि आफुहरुले रोक्न खोजेको बताए ।

तर, नदी खोलामा ठेक्का लिने र नजिकैको क्रसर उद्योग चलाउने व्यक्तिहरू ठुलाबडा भएकाले यो आतंक रोकिनेमा स्थानीयलाई आशंका छ । रोकाक्षेत्रीले थपे, ‘यो काममा ठुलाबडा छन्, सबै ठुला बडाकै हात छ ।’ पानी चुहाउँदै गुड्ने, ओभरलोड बोक्ने, तीव्र गतिमा जथाभाबी रुपमा चल्ने टिपरको आतंक बन्द गर्न माग गर्दै उक्त टोल विकास संस्थाले वडा नम्बर ६ को कार्यालयमा निवेदन पेश गरेको छ ।


उक्त संस्थाले टिपर आतंक रोक्नका लागि पहल गरिदिन वडा कार्यालयलाई लिखित रुपमा अनुरोध नै गरेको हो। ‘हाम्रो सबैभन्दा नजिक रहेको सरकार वडा कार्यालय हो, सडकको सुरक्षाका लागि हामीले वडा कार्यालयलाई निवेदन दिइसकेका छौं, वडाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने हामीलाई विश्वास छ,’ अध्यक्ष रोकाक्षेत्रीले भने ।

हुलाकी सडक निर्देशनालयले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरदेखी वडा नम्बर ६ फत्तेपुरको कुण्डाचोकसम्म हालै ‘अस्फाल्ट’ प्रविधिको सडक कालोपत्रे गरेको थियो । निर्देशनालयले उक्त सडकमा अहिले पनि निर्माण कार्य गरिरहेको छ । ठेकेदार कम्पनीले सडक हस्तान्तरण गर्न नपाउँदै दैनिक रुपमा सयौंको संख्यामा गुड्ने टिपरले पानी चुहाउँदै नदीजन्य सामग्री बोक्न थालेपछि सडकको गुणस्तर कमजोर हुने स्थानीयको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाटोमा फोहोर फाल्ने नन्दादेवीलाई दश हजार जरिवाना

११ पुष २०८०, बुधबार १३:४९
नेपालगञ्ज : औषधीजन्य फोहोर बाटोमा फाल्ने श्री नन्दादेवी कन्सर्न, नेपालगञ्जलाई दश हजार जरिवाना गरिएको छ । नन्दादेवीले म्याद नाघेका औषधीलगायतका फोहोर सुर्खेतरोडमा फालेको थियो । केही दिनदेखि सडकमा थुपारिएको फोहोर छरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले उक्त फोहोर देखेपछि सोधीखोजी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, औषधी व्यवस्था […]