बाँकेमा कुष्ठरोग निवारण अभियानमा बजेट अभाव

सदरलाइन संवाददाता १० पुष २०८०, मंगलवार १४:४९
 

नेपालगञ्ज : बाँकेमा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।

उक्त कार्यालयका क्षय कुष्ठ स्रोतव्यक्ति रवीन्द्र साहले रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएको बताए । उनले अभियान सञ्चालन गर्नका लागि बजेट नभएकाले बिरामी खोजपडताललगायत गतिविधि अगाडि बढाउन नसकिएको उल्लेख गरे । जिल्ला स्वास्थ्य कार्यालय मात्रै नभएर स्थानीय तहमा समेत कुष्ठरोग निवारणका लागि बजेट छैन ।

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले विगतको तुलनमा रोगीको सङ्ख्या कम भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोगको निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगीहरु लुकेर बसेको हुनसक्ने भएकाले खोजीका लागि शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ थियो ।


जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लामा कुष्ठरोग निवारणका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले स्थानीय तहसँग पहल र सरोकारवाला निकायबीच थप सल्लाह गरिने बताए । जिल्लामा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले कुष्ठरोगीको खोजपडताल र उपचार गर्दै आएको छ । गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मंगलबहादुर थारुले जानकारी दिए ।

उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका रहेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । आफू कहाँ आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्दै आइएको अस्पतालका प्रमुख थारुले बताए । उक्त अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालको एमआरआई मेसिन सञ्चालन हुन सकेन

१० पुष २०८०, मंगलवार १४:४९
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याएको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आउन नसक्दा खिया लाग्न सुरु भएको छ । अस्पतालले जिम्मा लिएको पाँच महिना बितिसक्दा पनि मेसिन अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन गत साउनको पहिलो हप्ता […]