नेपालगञ्जमा नर्स कार्यक्रम योजना तर्जुमा सम्पन्न

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १७:२१
 

नेपालगञ्ज : नेपालगञ्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बाँके, बर्दिया र रुकुमपूर्वका विद्यालय नर्सलाई नेपालगञ्जमा बोलाएर कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रम फोकल पर्सन कौशल भण्डारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा विद्यालय नर्स कार्यक्रम ५२ वटा विद्यालयमा पाइलट कार्यक्रमका रूपमा सञ्चालनमा रहेको छ । सङ्घीय, प्रदेश र स्थानीय तहसँगै कतिपय विद्यालय आफैले समेत विद्यालयमा नर्स राखेका कारण कार्यक्रम सञ्चालन भएको विद्यालय सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।

विद्यालयमा खटिएका नर्सले किशोर किशोरीमा हुने शारीरिक समस्या, मानसिक, सामाजिक र संवेगात्मक समस्या समाधानमा सहजीकरण, व्यक्तिगत तथा महिनावारी सरसफाइ, विद्यालय तथा वातावरण सरसफाइ, यौन शिक्षा, पोषण र गुणस्तरीय खानामा सुधार तथा लागूऔषध नियन्त्रणका लागि विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेगरेको फोकल पर्सन भण्डारीले बताए ।


कार्यक्रममा विद्यालय नर्सहरूले विद्यालयमा गर्दैआएको कामको बारेमा अनुभव आदान–प्रदान गरे । उनीहरूले व्यक्तिगत र महिनावारी सरसफाइको प्रभावकारिता बढी देखिएको बताए । खासगरी किशोरी अवस्थामा हुने रक्तअल्पताको समस्यामा समेत सुधार आएको र पोषण र गुणस्तरीय खानामा समेत सुधार आएको नर्सको भनाइ छ ।

पोषण गुणस्तरीय खानाबारेमा जानकारी दिएपछि विद्यालयमा जंकफुड निषेध भएको र अभिभावकमा समेत सचेतना फैलिएको पाइएको विद्यालयका नर्सहरूले बताए । विद्यालयका नर्सलाई आवश्यकताअनुसार तालिमको व्यवस्था हुनुपर्ने, प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरण उपलब्ध हुनुपर्ने, विद्यालय नर्सले सेवा दिने–परामर्श गर्ने कक्षको व्यवस्था हुनुपर्ने, विद्यालय नर्स, रेफरल अस्पताल र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी हुनुपर्ने सुझाव नर्सहरूले दिएका थिए ।

कार्यक्रममा फोकल पर्सन भण्डारीसहित भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक कुमार थापा, युनिसेफका प्रकाशचन्द्र जोशीलगायतले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको संख्या न्यून

५ पुष २०८०, बिहीबार १७:२१
नेपालगञ्ज : बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको संख्या न्यून रहेको पाईएको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन गरेको १० वटा निशुल्क बन्ध्याकरण शिविरबाट १० पुरुष र १ सय १५ महिला गरी १ […]