बाँकेको बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउन माग

सदरलाइन संवाददाता ३ पुष २०८०, मंगलवार १७:२०
 

नेपालगञ्ज : थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु संग्रहालय बनाउन माग गरिएको छ । बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।

थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेट गरी थारु संग्रहालयको महत्वबारे जानकारी गराए । उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वनको जमिन संग्रहालय बनाउन माग गरे । संग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रुपमा सूचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहु बर्षे बजेटको व्यवस्था गरिदिनुपर्ने, थारु जातिको चाड तथा नयाँ वर्षका अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ ।

यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रुपमा थारु संग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीयस्तरमा रोजगारका अवसर सृजना गर्नुपर्नेलगायतको माग रहेको अगुवा थारुले बताए । बैजनाथ गाउँपालिकामा कूल जनसङ्ख्याको ३८ प्रतिशत थारु समुदाय छन् । थारु संग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ ।


गाउँपालिका अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०÷८१ मै थारु संग्रहालय निर्माणका लागि प्रतिवेदन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले भने,“संग्रहालयको प्रतिवेदन बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, प्रतिवेदन तयार गर्न म प्रयास गर्ने छु ।’’यस्तै थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले बताए ।

उनले ‘शहीद’ वैजनाथ थारुको सम्मानस्वरुप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समेटेको बताए । थारु समुदायको खानपान, कला, संस्कृति, भेषभूषा र इतिहास बचाउन संग्रहालय बनाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘छ वर्षे शिशु प्रदेश सभाबाट धेरै आशा गर्ने बेला भएको छैन’

३ पुष २०८०, मंगलवार १७:२०
नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश स्थापनाको ६ वर्षमा कार्यन्वयनको अवस्था शिशु जस्तै भएकोले प्रदेशबाट आशातित काम हुन नसक्नु स्वभाविक नै भएको बताएका छन् । उनले प्रदेश सभाद्वारा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन ।‘संघका सबै संरचना परापूर्वकालदेखि छन् तर, प्रदेश स्थापना भएको मात्र […]