रुख कटान आदेश नहुँदा कोहलपुर–सुर्खेत विद्युत् विस्तार अवरुद्ध

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १४:२३
 

नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण र ६० वटा टावर तयार भइसकेका छन् । ८० वटा पोल गाडिएको छ । बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ ।

कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनलाई १३२ केभीको बनाउन काम थालिएको हो तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ ।

विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब छ हजार रुख कटानका लागि अनुमति मागिएको छ । आयोजना प्रमुख चौधरीका अनुसार ठेकेदारले काम गर्ने ठाउँ दिनूस् भनेर पत्राचार गरिरहेको छ । अब काम गर्न बाँकी क्षेत्रमा विवाद नै विवाद छ । त्यसैले काम ठप्प भएको हो ।


विद्युत् विस्तार क्षेत्रमा पर्ने व्यक्तिको स्वामित्वमा रहेका जग्गा मुख्य समस्या बनेका छन् ।

मुआब्जाको विषय नटुङ्गिएकाले उक्त जग्गा आयोजनाको नाममा बनाउन समस्या भइरहेको छ । यसका साथै सरकारी वन क्षेत्र प्रयोग गर्न पनि अनुमति नपाउँदा काम गर्न सकस भएको हो । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि काम गर्ने क्षेत्र नहुँदा हात बाँधेर बस्नु परिरहेको प्रमुख चौधरीले बताए ।

आयोजनाको ठेक्का सम्झौता भएसँगै कानुनी प्रव्रिmयामै झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । उनले कानुनी उल्झन र विभिन्न अवरोधका कारण आयोजनाको काम रोकिएकाले सरोकारवालाले यस सम्बन्धमा चासो दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तक्षशिलामा स्मार्ट बोर्डमार्फत अध्यापन गराईंदै

३० मंसिर २०८०, शनिबार १४:२३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा क्षेत्रमा सञ्चालनमा आएको तक्षशिला एकेडेमी बाँकेले बिद्यार्थीहरुलाई स्मार्ट बोर्डका माध्यमबाट अध्यापन गराउँदै आएको छ । तक्षशिला एकेडेमी बाँकेमा अध्यायन गर्ने बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिएर उनीहरुलाई ब्यवहारिक ज्ञानमा बढि जोडदिँदै आएको बिद्यालयले जानएको छ । तक्षशिला एकेडेमी बाँकेका सञ्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले उपत्यका […]