बाँकेमा शीतलहरबाट जोगाउन आकस्मिक योजना तयार

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १७:४६
 

नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेको वैठकले २१ बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बसेको वैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको हो ।

वैठकमा यस वर्षको चिसोयाम शुरु भइसकेकोले जिल्लामा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षती न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरिएको छ ।

आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ । साथै सबै नगरपालिका÷गाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ–आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।


स्थानीय तहसंगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सवै संघसस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शीतलहरवाट हुने क्षती न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने, स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउँदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

चिसो तथा शीतलहरको प्रभावबाट बच्न÷बचाउनको लागि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतनामूलक सामग्री तयारमा सहजीकरण गर्ने तथा बाँकेमा रहेका सवै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण/प्रकाशन गर्ने र त्यसका लागि नेपाल पत्रकार महासंघले आवश्यक समन्वय गर्ने निर्णय भएको छ । स्थानीय संघ/संस्था, रेडक्रस उपशाखा, स्थानीय क्लवहरूले विभिन्न समुदाय, विद्यालयहरुमा चिसो तथा शीतलहरवाट बच्ने उपाय सम्वन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शीतलहरबाट बच्नेबचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो तथा हुस्सु लागेको समयमा संभावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने लगायतका निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा विपद व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई ’डेडिकेटेड अस्पताल’ तोकिएपछि फोकल पर्सनका भूमिका निभाएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापनमा भएका काम र आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सबैको संयुक्त प्रयासमा राहत संकलन र व्यवस्थापनका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बगरमा तरकारी खेती गर्दै गौरी

२७ मंसिर २०८०, बुधबार १७:४६
नेपालगञ्ज : बाँकेको राप्ती नदीले बर्षायाममा बर्षेनी थुप्रै जमिन कटान गरेर बगर बनाइदिन्छ । यसरी बनेको बगर अरुका लागि कामै नलाग्ने भएपनि गौरी मिश्रा जस्ता मिहिनेती महिलाका लागि भने हरियो तरकारी उब्जिने गर्ने मलिलो जग्गा बनेको छ । डुडुवा गाउँपालिका –५ बेतहनीकी छत्तिस वर्षिया गौरी र श्रीमान भुवनेश्वरले दुई वर्षदेखि […]