खजुरा अस्पतालका चिकित्सक निजी अस्पतालमा पठाउँदै विरामी

सदरलाइन संवाददाता २१ मंसिर २०८०, बिहीबार १४:०५
 

नेपालगञ्ज : नागरिकको मुट्ठीदानबाट निर्माण भएको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल डाक्टरहरुका लागि आफ्नो निजी अस्पताल चलाउने सम्पर्क अस्पताल बन्न थालेको बिरामीहरुले गुनासो गर्न थालेका छन् । अस्पतालमा आउने बिरामीहरुलाई क्यान्सर अस्पतालबाट सेवा नदिई खुलम्खुल्ला आफु संलग्न निजी अस्पतालमा बोलाउन थालिएको अस्पतालमा सेवा लिन आएका बिरामीहरुले गुनासो गर्न थालेका छन् ।

हाल अस्पताल प्रशासनको जिम्मा पाएका सर्जन डा. प्रविण गुप्ताले क्यान्सर अस्पताल आएका बिरामीलाई आफ्नो निजी अस्पताल कृपा अस्पतालमा जान दवाव दिएको बिरामीको आफन्तले गुनासो गरेका छन् । सुर्खेतबाट स्तनको समस्या लिएर क्यान्सर अस्पताल खजुरा आएकी एक महिलालाई ४ दिनसम्म अस्पतालमा धाउन लगाएर ४ दिन पछि कृपा अस्पताल नेपालगन्ज जान दवाव दिएको बिरामी महिलाका आफन्तले बताएका छन् । ती महिलाले अस्पतालको ४ नम्बर कोठामा सुरुवाती जाँच गराएपनि पछि त्यहाँबाट डा. प्रविणसँग जँचाउन भनिएको बताइएको छ । कोठा नम्बर ४ मा अनकोलोजी विभाग अन्तर्गत डा. साजन थापा र मुकेश यादवले विरामी हेर्दै आएका छन् ।

४ दिनदेखि अस्पतालमा पालो कुर्दै बसेकी महिलालाई बिहीवारका लागि समय दिइएको भएपनि बिहीवार बिहानै अस्पताल पुग्दा काउन्टरबाट आज पर्चा नकाट्न निर्देशन भएको भन्दै काउण्टरकै कर्मचारीले कृपा अस्पताल जान सल्लाह दिएको महिलाको आफन्तले बताए ।

चिकित्सकहरु लगातार फेरिने परिपाटीले समस्या भोग्दै आएको क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकहरुले नै अस्पताललाई माध्यम बनाएर कमाउने धन्दा बनाएको पीडित बिरामीहरुले गुनासो गरे ।


अस्पतालका निमित्त प्रमुख डा गुप्ताले भने आफुले पर्चा बन्द गर्ने निर्देशन नदिएको बताए । उनले अस्पतालका कुनैपनि डाक्टरले निजी अस्पताल पठाउने नगरेको दाबी गर्दै अस्पताल समय बाहेकको समयमा आफुलाई भेट्न चाहने बिरामीलाई कृपा अस्पताल जान भनिएको हुन सक्ने अनुमान गरे । ४ नम्बर कोठामा आफु नबस्ने बताउँदै उनले डा मुकेश बच्चा बिरामी भएको र डा. सागर अस्पतालकै एक कार्यक्रममा भाग लिन काठमाडौं जानु परेकाले आज सेवा दिन नसकिएको बताए ।

अस्पतालमा २४ सै घण्टा ल्याव र रेडियोलोजी सेवा दिने भनिएपनि जनशक्तिको अभावमा भिडियो एक्सरे दिनको २ बजेपछि १५ जनाको मात्र तथा ल्यावमा लामै पालो कुर्नुपर्ने अवस्था आएको छ । २ बजेपछि मात्र भिडियो एक्सरे हुने भएपछि टाढाबाट उपचारका लागि आउने बिरामीले एक रात बास बस्न बाध्य हुनुपर्ने अवस्था रहेको छ । २ बजेपछि चिकित्सकहरु निजी क्लिनीक वा अस्पताल जाने गरेका छन् ।

केहीदिन अघि स्वास्थ्यमनत्री मोहन बस्नेतले अस्पतालमा ८ बजेबाट ओपीडी संचालन गर्न निर्देशन दिएपनि अस्पतालले मन्त्रीको निर्देशनलाई हावामा उडाएको छ । अस्पताल स्वीकृति दिने सरकारले अस्पतालमा दरबन्दी नदिएको कारण अस्पताल संचालन भएको ८ वर्ष देखि करार र ज्यालादारी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका भरमा अस्पताल चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा ५२५ को आँखा जाँच गर्दा ७० मा मोतीबिन्दु

२१ मंसिर २०८०, बिहीबार १४:०५
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार […]