बाँकेमा बन्ने आकाशे पुल अनिश्चित, पूर्वमन्त्रीद्वारा ताकेता जारी

सदरलाइन संवाददाता २१ मंसिर २०८०, बिहीबार १३:४८
 

नेपालगञ्ज : नेपालगञ्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना विते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यू स्वीकृत नगर्दा आकाशे पुल निर्माण अनिश्ति बनेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले बताए । उक्त पुलको पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले गत मंसिरमा शिलान्याश गरेका थिए ।

डिजाइन रिभ्यूका लागि पुल महाशाखामा पठाएको लामो समय भए पनि अहिलेसम्म डिजाइन रिभ्यू स्वीकृत नभएको शाक्यको भनाई छ । ‘डिजाइन रिभ्यूको लागि पठाएको फायल लामो समयदेखि पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन,’ उनले भने ।

आकाशे पुल निर्माणका लागि २८ कात्तिक, २०७९ मा चितवनको भरतपुरस्थित डायनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उनले बताए । सम्झौता भएको १५ महिनामा काम सक्ने सहमति भएको छ, तर १३ महिना वितिसक्यो । अहिलेसम्म कार्यान्वयनको काम अगाडी बढेको छैन,’ शाक्यले भने, ‘डिजाइन रिभ्यू स्वीकृत भएपछिमात्र काम अगाडी बढाउन सकिन्छ ।’

सम्झौता अनुसार, नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, कारकाँदो चोक र राँझा चोक तथा कोहलपुरको एक ठाउँमा आकाशे पुल निर्माण गर्ने रहेको छ ।

पुल निर्माणका लागि डायनामिक कन्स्ट्रक्सनसँग आठ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको डिभिजन प्रमुख शाक्यले बताए । उनले निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिले वजेट नभएको बताए । ‘एक त डिजाइन रिभ्यू भएको छैन । अर्कोतर्फ निर्माण गर्ने भनिएको आकाशे पुल निर्माण शिर्षकमा वजेट नै छैन,’ उनले भने, ‘डिजाइन रिभ्यू स्वीकृत नहुँदै पुल बन्छ भन्न सकिने अवस्था छैन ।’

पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईको जोड्वलमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने योजना परेको थियो । तर, राई मन्त्रीबाट बाहिरिएलगत्तै यो योजना अनिश्चित भएको छ । ‘इस्तियाक राई ज्यू मन्त्री भएको बेला सम्झौता गर्नेहरु अहिले कार्यान्वयन गर्न नसक्ने भन्दै पञ्छिदै छन् । सम्झौता कार्यान्वयन नहुँदा म समस्यामा परेको छु,’ डिभिजन प्रमुख शाक्यले भने ।


बाँकेबाट विजयी सांसदले चासो नदिँदा आकाशे पुल निर्माणले गति लिन नसकेको पूर्वमन्त्री राईले बताए । उनले यस विषयमा आफूले विभागिय मन्त्री, मन्त्रालयका उच्च पदाधिकारी र पुल महाशाखाका कर्मचारीलाई ताकेता गरिरहेको वताए । ‘सम्झौता अनुसारको काम छिटो अगाडी बढाउन बारम्बार ताकेता र दवाव दिइरहेको छु । डिजाइन रिभ्यू छिट्टै स्वीकृत गरेर काम अगाडी बढाउने आश्वासन पाएको छु,’ उनले भने ।

तर, डायनामिक कन्स्ट्रक्सन प्रालिका प्रमुख यूवराज क्षेत्रीले डिजाइन रिभ्यूका कारण नभई सडक डिभिजन कार्यालय नेपालगञ्ज र सडक विभागको लापरवाहीले आकाशे पुल निर्माण अगाडी बढ्न नसकेको बताए ।

उनले सम्झौता अनुसार पुल निर्माणको काम अगाडी बढाउन ५० भन्दा धेरै पटक ताकेता गरेको जिकिर गरे । ‘कन्स्ट्रक्शनको तर्फबाट काम गर्न तयार छौँ । काम गर्ने अनुमति दिनु पर्यो भनेर पटक–पटक ताकेता पनि गरि सक्यौँ, तर कुनै सुनुवाई भएको छैन,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको नियत के हो बुझ्न सकिएन । अनुमति नदिँदा हामी अन्यौलमा छौँ ।’

सडक वारपार गर्न सर्वसाधारण बटुवालाई समस्या भएपछि पूर्वमन्त्री राईले नेपालगञ्ज र कोहलपुरमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएर प्रक्रिया अगाडी बढाएका थिए । उनी मन्त्री हुँदा भनसुन गरि ल्याएको आकाशे पुल निर्माण योजना अनिश्चित बनेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।

‘टेण्डर खोलेर योजनाको काम गर्ने निर्माण कम्पनीसँग सम्झौता समेत भइसक्दासमेत काम अगाडी नबढ्नु नेपालगन्ज र कोहलपुरबासीका लागि दुर्भाग्य मान्नु पर्छ,’ नेपालगन्ज १, धम्बोझीका गुलाम अलीले भने, ‘आकाशे पुल निर्माणको काम छिटो अगाडी बढाउनु पर्यो । नत्र हामी आन्दोलन गर्न बाध्य हुने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा अस्पतालका चिकित्सक निजी अस्पतालमा पठाउँदै विरामी

२१ मंसिर २०८०, बिहीबार १३:४८
नेपालगञ्ज : नागरिकको मुट्ठीदानबाट निर्माण भएको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल डाक्टरहरुका लागि आफ्नो निजी अस्पताल चलाउने सम्पर्क अस्पताल बन्न थालेको बिरामीहरुले गुनासो गर्न थालेका छन् । अस्पतालमा आउने बिरामीहरुलाई क्यान्सर अस्पतालबाट सेवा नदिई खुलम्खुल्ला आफु संलग्न निजी अस्पतालमा बोलाउन थालिएको अस्पतालमा सेवा लिन आएका बिरामीहरुले गुनासो […]