एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टी भित्रैकै हरिया सर्प सलबलाए :  एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १८:२६
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएको दाबी गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार बिहान सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन ।

उनले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको र एमालेको पालामा देशमा सुशासन कायम भएको दाबी गर्दै भने–‘भ्रष्टाचार नियन्त्रण गरेका थियौँ, थुप्रै क्षेत्रमा पूर्वाधार, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, अनेक क्षेत्रहरूमा विकासको गतिलाई अघि बढाएका थियौँ ।’

एमाले अध्यक्ष ओलीले भने–‘हाम्रो कार्यक्षमता देखेर हाम्रा विरोधहरू आत्तिए, पार्टी भित्रै लुकेर बसेका कतिपय हरिया सर्पहरू, तिनीहरू पनि आत्तिए तिनले पनि पार्टी विरुद्ध प्रहार गरे, हाम्रो देशलाई सम्पन्न भएको देख्न नचाहने, विकास भएको देख्न नचाहने यस देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान माथि उठेको देख्न नचाहने वैदेशिक शक्तिहरूले पनि हाम्रा विरुद्ध षडयन्त्र गरे ।’
एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको बताउदै आज देशको विकास ठप्प भएको आलीले सुनाए । उनले अहिले जनतामा निराशा बढ्दै गएको टिप्पणी गरे । देश अगाडि बढ्नु पर्नेमा विनाश तर्फ धकेल्ने काम गरिएको, विश्व तीव्र आर्थिक विकास तर्फ अघि बढिरहेको बेला नेपाल भने ओरालो लागेको उनको टिप्पणी छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते आरम्भ भएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदै छ ।

मध्य पहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

मध्यपहाडिको बाटो नहुँदा भेरी कोरिडोर लाग्यो एमाले अभियान

मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ । २०७९/८०मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडि (पुष्पलाल) लोकमार्ग अन्तरगत छेडागाड नगरपालिका १२ को मन्ता भिरमा ५ सय मिटर ट्रयाक खोल्ने काम नसकिएपछि लोकमार्गको काम अवरुद्ध भएको छ ।

मध्यपहाडको अवस्था र विकासका संभावनाका बारेमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सर्वसाधारणसँग छलफलका लागि शुरु गरिएको एमालेको संकल्प यात्रा बीचमा बाटो नभएपछि दैलेख सोमबार बिहान दैलेख सदरमुकाम दैलेख बजारदेखि लोकमार्ग छोडेको हो ।


हामीलाई मध्यपहाडि लोकमार्गबाटै जाने बाटो नजोडिएको हुनाले हामीले बाध्य भएर बिचमा ट्रयाक परिवर्तन गर्नु परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । ‘२०६४ सालदेखि शुरु भएको मध्यपहाडि (पुष्पलाल) लोकमार्ग अन्तरगत जाजरकोट मन्ता भिरमा ट्रयाक जोडिएको छ्रैन्, जाजरकोट कुदु र रुकुमपश्चिमको चौरजहारी जोड्ने पुल नहुँदा हामीले अर्कोमार्ग प्रयोग गर्नुपर्ने अवस्था आयो’, उपमहासचिव रिमालले भने–‘वर्तमान गठबन्धनको सरकारले ५ सय मिटरको ट्रयाक पनि खोल्न नसक्दा र एक पुल निर्माण गर्न नसक्दा लोकमार्ग अधुरो भएको छ ।’

उनका अनुसार मध्यपहाडिको बाटो नजोडिएपछि नजिकको मार्गका रुपमा एमालेले भेरी कोरिडोरलाई उपयोग गरेको हो । बैतडीको झुलाघाटबाट शुरु भएर दैलेखसम्म मध्यपहाडि लोकमार्गमै हिडेको एमाले अध्यक्ष नेतृत्वको अभियान टोली आज भेरी कोरिडोर हुँदै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा जोडिने छ ।

लोकमार्ग शुरु भएपछि लामो समय प्रदेश र संघको सरकारमा रुकुम पश्चिम र जाजरकोटका नेताहरु सहभागि भएपनि सडक जोड्ने कामलाई प्राथमिकतामा नराख्दा लोकमार्ग पुरा हुन नसकेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले आरोप लगाए ।

‘कुदुको पुल र मन्ता भिरको छोटो दुरीको काम नसकिँदा लोकमार्गबाट नागरिकले जुन रुपमा फाइदा लिनु पर्ने थियो त्यो लिन सकेका छैनन’ आचार्यले थपे, ‘निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभी ठेकेदार कम्पनीलाई तताउन वा सम्झौता रद्ध गर्नतर्फ सरकारका जिम्मेवार निकाय नलाग्दा ३ वर्षमा सकिने काम ५ वर्ष पुग्दा पनि पुरा हुन सकेन ।’

आर्थिक वर्ष २०६४/ ६५ बाट निर्माण सुरु भएको मध्यपहाडी लोकमार्ग आव २०७९/८० मा सक्ने लक्ष्य राखिएको थियो । दुई लेनको १८ सय ७९ किलोमिटरको सडक निर्माण गर्ने योजनाका साथ शुरु भएको मध्यपहाडि लोकमार्गको काम बिलम्ब भएपछि ओइटिङ गभरमेण्टका रुप्मा हेरिएको प्रतिपक्ष दल एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ शुरु गरेको छ ।

तीन वर्षमा काम सम्पवन्न गर्ने गरी निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले २०७७ सालमा कोरोनाको कारण देखाउँदै ढिला गरेको थियो । अहिले निर्माण सम्झौता अनुसार सामाग्री महंगो भएको बाहाना बनाएर अवरुद्ध भएको भिर फुटाउने काम रोकिएको हो ।

    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति–प्रधानमन्त्री हेलिकप्टर चढ्न प्रतिस्पर्धा गर्छन्, एमाले स्वयंसेवामा खट्छ : केपी ओली

१९ मंसिर २०८०, मंगलवार १८:२६
जाजरकोट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको दाबी गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका एमालेका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति, […]

सम्बन्धित

ताजा अपडेट