जब एमाले सरकारबाट हट्छ, तब हत्या हिंसाको शृङ्खला सुरु हुन्छ : केपी ओली

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १२:२०
 

अछाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिन लाग्दो संस्कृति विकास भएको बताएका छन् । समृद्धिको लागि संकल्प यात्रामा निस्किका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको कुरामा जोड दिदै भने–‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिन लाग्दो हो ।’

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद व्यक्त गर्दै भने–‘एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको छ । म विनोद शाहीलाई सहिद घोषणा गर्दछु ।’

अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता विनोदको शव जेठ २१ गते भिरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।

ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताए । ‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या हिंसाका शृङ्खलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ’, अध्यक्ष ओलीले भने ।


पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुनु नहुने ओलीले बताउदै यसको लागि स्थानीयलाई सतर्क र सजग हुन पनिे आग्रह गरे ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने र चलाई हाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको प्रर्व प्रधानमन्त्री ओलीको भनाई छ । अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै ओलीले आलोचना गर्दै भने–‘अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ भनेर फेरी जेलमा हालिराखेको छ ।’

एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्य पहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्य पहाडको समस्या र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एचआइभी संक्रमणबाट बाँकेमा १७२ जनाकोे मृत्यु

१७ मंसिर २०८०, आईतवार १२:२०
नेपालगञ्ज : एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले जानकारी दिए । यीमध्ये चार सय १२ जना बाँकेका हुन् । एचएचएफको सहयोगमा नेपालगञ्ज […]