बाँकेका अधिकाँश कार्यालय छैनन् अपांगतामैत्री

सदरलाइन संवाददाता १३ मंसिर २०८०, बुधबार १३:५६
 

नेपालगञ्ज : बाँकेका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुःखेसो छ ।

कोहलपुर नगरपालिकाको कार्यालय भवन अपांगमैत्री नहुँदा सेवा लिन निकै समस्या उठाउनु परेको अपांग नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जंगबहादुर डाँगीले बताए । उनले नगरपालिका र नगर भित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्ति कष्ट सहन बाध्य रहेको बताए ।

बाँकेमा अपांगता भएका एक हजार हाराहारीले अपांगतामैत्री भवन, शौचालय र संरचना नहँुदा यस्ता समस्या भोग्दै आएको अध्यक्ष डाँगीको भनाइ छ । सरकारी तथा गैरसरकारी कार्यालयम जाँदा अपांगतामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको गुनासो दैनिक आउने उनले बताए ।


बाँके बैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुन् जनयुद्धको बेला घाइते भएर शारीरिक रूपमा अशक्त छन् । उनले गाउँपालिकाको कार्यालय अपांगमैत्री नहुँदा सेवा लिन निकै असहज हुने गरेको बताए । अपांगता भएकी कोहलपुरकी मीरा कार्कीले नेपाल सरकारले अपांगता भएका व्यक्तिका लागि अपांगतामैत्री संरचना बनाउने निर्देशन दिए पनि कोहलपुरमा यस्ता संरचना बन्न नसकेको गुनासो गरिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले अपांगता भएका व्यक्तिसँग गरेको अन्तरक्रिया कार्यक्रममा अपांगता भएका अधिकांश व्यक्तिले स्थानीय सरकारले अपांगताका समस्या बुझेर त्यस्ता संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले अन्तरक्रियामा सहभागी अधिकांशले अपांगता भएका व्यक्तिका लागि नीति नियम बने पनि कागजमै सीमित भएको गुनासो गरेको बताइन् ।

उनका अनुसार सहभागी अधिकांशले आगामी दिनमा अपांगतामैत्री, बालमैत्री र महिलामैत्री भवन तथा संरचना निर्माण गरिदिन जिल्लाका सबैसंग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर सडकखण्डमा जेब्रा क्रसिङ रंगरोगन गरिँदै

१३ मंसिर २०८०, बुधबार १३:५६
नेपालगञ्ज : बाँकेको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित कोहलपुर नेपालगञ्ज सडकखण्डमा दुर्घटना रोक्नका लागि त्यहाँ रहेका जेब्रा क्रसिङ्गको रङ्गरोगन शुरु गरिएको छ । सो सडक खण्डअन्तर्गत तथा कोहलपुर नगरपालिका भित्र पर्ने विभिन्न चोक र विद्यालय अस्पताल नजिकका ठाउँमा दुर्घटना रोक्न बनाइएका जेब्रा क्रसिङ्गहरुको पेन्टिङ्ग मेटिएकाले ती जेब्रा क्रसिङ्गलाई […]