बाँकेका विभिन्न स्थानमा सोमवारदेखि ऐतिहासिक मेला शुरु

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १३:१३
 

नेपालगञ्ज : कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानमा मेला शुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि मेला शुरु भएको हो ।

कार्तिक पुर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेहरुको सोमवार विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।

नदी तथा जलासयमा विहान स्नान गरि गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए । उनले भने, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघे संक्रान्तिका दिनको जति फल मिल्छ, यो सुर्य भगवानको विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरिरमा चर्मरोग सम्वन्धी समस्या समेत निराकरण हुन्छ ।”

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चर्तुमास समापन पश्चात शुभ कार्यको थालनी गर्ने चलन रहिआएको छ । पुर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइतहरू शुरु हुने पण्डित पाठकले बताए । चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा सबै शुरु हुन्छन् ।

पुर्णिमाको अवसरमा राप्ती नदीको सिधनिया घाटमा मेला लागेको छ । मेलामा रामलिला मञ्चन, मनोरञ्जनात्मक नाँच गानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोला प्रसाद गुप्ताले बताए ।


उनका अनुसार भारतबाट करिब २० जना कलाकारको समुहले नाटक मञ्चन, नौटंकी नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गरिरहेको छ । मेलामा साधु सन्तहरुको समेत उपस्थिती रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरि समापन गरिने समितिले जनाएको छ ।

यसैगरि बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा तीन दिने मेला सञ्चालन भएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राती सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येका वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२ टिकुलीपुरमा डिग्रे मेला शुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुर्रा राँगाको ‘सिमेन’ बैशाखबाट किसानले पाउने

११ मंसिर २०८०, सोमबार १३:१३
नेपालगञ्ज : नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमेन) आगामी वैशाखबाट मात्रै किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा सात राँगा ल्याइएको छ । पशु प्रजनन कार्यालयका प्रमुख डाक्टर जगदीश पाण्डेले राँगालाई […]