नेपालगञ्ज : चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।
त्रिपालमुनीको बसाइ चिसो, शित र जाडो छल्ने कपडा नहुँदा दीर्घ रोगीको मृत्यु भएको हो । छेडागाड नगरपालिका –१३ की मनसरी कामी दमको दीर्घरोगी थिए । त्रिपालमुनीको बसाइ चिसोले दम बढेपछि उनको मृत्यु भएको स्थानीय हेमन्त केसीले बताए ।
त्रिपालमुनीको वसाइ बालबालिका सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । त्रिपालभित्र राहत पाएको एकसरो कपडाले चिसो नछल्ने भएपछि भूकम्प प्रभावित क्षेत्रमा बिभिन्न स्वास्थ्य समस्य देखिन थालेको छ । एक साताअघि भेरी, नलगाड, बारेकोट गाउँपालिकामा पाँच जना दीर्घरोगीको मृत्यु भएको छ । एक हप्ताभित्र चिसोले सात जना भूकम्पपीडित दीर्घरोगी ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।