नेपालगञ्ज : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल ल्याउनेक्रममा जाजरकोट नलगाड १ पालीका ३३ बर्षीय टेकबहादुर पुनको निधन भएको हो । हेलिकप्टरबाट उपचारका लागि यहाँ ल्याइएका पुनलाई भेरी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
हाल २७ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । उपचारका लागि शिक्षण अस्पताल र अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।
घाइतेहरु स्थलमार्गबाट आउनेहरु सिधै अस्पतालमा आउँछन् भने हेलिकप्टरमार्फत आउनेहरु राँझास्थित नेपाली सेनाको चारवाहिनीमा अवतरण भएपछि एम्बुलेन्समार्फत भेरीसम्म ल्याउने व्यवस्था गरिएको छ । त्यसका लागि ४५ बढी एम्बुलेन्सको परिचालन गरिएको छ । विरामीका लागि रगत अभाव हुन नदिन रक्तसञ्चार केन्द्रमा रक्तदान भइरहेको छ ।