नेपालगञ्जमा क्रिकेट मैदानको अभाव

सदरलाइन संवाददाता १२ कार्तिक २०८०, आईतवार १४:५६
 

नेपालगञ्ज : पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगञ्जमा क्रिकेट खेलको गतिविधि ओरालो लाग्दै गएको छ । क्रिकेटका लागि खेल मैदान नहुँदा खेलाडीलाई अभ्यास गर्ने ठाउँको अभाव भएको छ । क्रिकेट मैदानको अभावमा खेल गतिविधि न्यून हुने गरेको छ ।

क्रिकेट मैदानकै अभावमा खेलाडीले राम्रोसँग खेलको अभ्यास गर्न सकेका छैनन् भने ठूला तथा साना औपचारिक खेलसमेत हुन नसकेको खेलाडीहरुको गुनासो छ । क्रिकेटका लागि मैदान नहुँदा खेल खेल्न तथा अभ्यास गर्न समस्या रहेको बाँके क्रिकेट टोलीका क्याप्टेन सिद्धान्तराज शाहीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा तालमा क्रिकेट स्टेडियम बनाउने स्थानीय सरकारको योजना थियो तर उक्त तालमा स्थानीयवासीको अवरोधका कारण अदालतमा मुद्दासमेत परेको थियो । केही समयअगाडि अदालतले उक्त मुद्दा सुनवाइ गर्दै सो स्थानमा क्रिकेट स्टेडियमलगायत संरचना बनाउन केन्द्रीय सरकारसँग अनुमति लिनुपर्ने निर्णय गरे पनि प्रक्रिया भने अगाडि बढ्न नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए ।


उनका अनुसार एघार बिघा क्षेत्रफल रहेको फुल्टेक्रा तालको चार बिघा पाँच कट्ठामध्ये १८ धुरमा क्रिकेट स्टेडियम, तीन कट्ठामा वडा कार्यालय, तीन बिघामा मुस्लिम समुदायको कर्वाला, दुई बिघा तीन कट्ठा दस धुरमा हिन्दूहरुको मिर्छुवा पुजन, १९ कट्ठा १५ धुरमा पार्किङ र १५ कट्ठामा आवातजावतका लागि बाटो निर्माण हुने सर्वदलीय सहमति भएको थियो ।

उक्त तालको जग्गा संरक्षण गर्न वरिपरी तारबार गरिएको छ । तोकिएका ती संरचना बनाउनका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरेर निर्माण गर्ने योजना बनाइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । क्रिकेट मैदान नहुँदा मङ्गलप्रसाद माध्यमिक विद्यालयको मैदानलाई खेलाडीले प्रयोग गर्दै आए पनि उक्त मैदानमा क्रिकेट खेल्दा विद्यार्थीको पठनपाठनमा प्रत्यक्षरुपमा असर परेको छ ।

उक्त समस्या समाधनका लागि खेलाडीसँग छलफल भइरहेको र केही समयमा टोली बनाएर केन्द्रीय सरकारसँग पहल गर्न जाने मेयर विष्टले बताए । खेलक्षेत्रलाई माथि उकास्न सरोकारवाला निकायले स्थानीयवासीसँग समान्वय गरी क्रिकेट स्टेडियम निर्माणका लागि केन्द्रीय सरकारसँग यथाशीघ्र पहल गरे मात्रै नेपालगञ्जमा क्रिकेट खेलले गति लिन सक्ने राष्ट्रिय बडीविल्डर सुरेस श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सानिमा बैंकद्वारा कोहलपुरमा छात्रबृत्ति

१२ कार्तिक २०८०, आईतवार १४:५६
नेपालगञ्ज : सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै कोहलपुरका विद्यार्थीलाई छात्रबृत्तिमा छनोट गरेको छ । छनौट भएका विद्यार्थीमा त्रिभुवन माविकी मालिका यादव र राम माविका आदर्श लोनिया रहेको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङ्गले जानकारी दिएका छन् । एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ पढिरहेका विद्यार्थीलाई आर्थिक समस्या नहोस् भनेर […]

सम्बन्धित