अठार वर्षअघि निर्माण शुरु गरिएको सिक्टा सिँचाई अधुरै

सदरलाइन संवाददाता १२ कार्तिक २०८०, आईतवार १३:४६
 

नेपालगञ्ज : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ ।

अठार वर्षअघि सात अर्ब रुपैयाँ लागत लाग्ने भनी शुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ ।

आयोजनाका लागि हालसम्म २० अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको र त्यसबाट २० हजार २०० हेक्टर जमिनमा मात्र सिँचाइ पुगेको आयोजनाले जनाएको छ । एक अर्ब रुपैयाँ खर्च बराबर एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६२÷६३ देखि आयोजना निर्माण शुरु गरिएको थियो ।


आयोजना शुरु भएको करिब दुई दशकमा २० अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्य अनुसार कार्य भएको छैन । तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर २०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको तर सो अवधिमा कार्य सम्पन्न हुने सम्भावना निकै कम रहेको आयोजनाकै अधिकारीहरू बताउँछन् ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सन्देश पौडेलले बन्द, हड्ताल, कोरोना, किसानले हालेको मुद्दालगायतका कारण निर्माण कार्यमा केही ढिलाइ भएको तर काम नियमित नै भइरहेको बताए । निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण लागत पनि बढेको उनले बताए ।

बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धान खेती हुन्छ । बाह्रैमास पानी सुविधा भएमा किसानले धानबाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि किसानको आशा अझै पूरा हुन सकेको छैन । आयोजनाले आवश्यकताभन्दा निकै कम पानी छोडेर तयार भएका नहरको परीक्षण गरिरहेको किसानको गुनासो छ । किसान अगुवा शालिकराम डाँगीले पूर्वी र पश्चिम नहरमा छोडिएको पानीबाट किसानले खासै फाइदा लिन नसकेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा नेपालगञ्जमा

१२ कार्तिक २०८०, आईतवार १३:४६
नेपालगञ्ज : नेपालको पहिलो लघु बीमा कम्पनी गार्डिन लघु जीवन बीमा कम्पनीले नेपालगञ्जमा आफ्नो नयाँ शाखा खोलेको छ । कम्पनीले सातौं शाखाको रुपमा नेपालगञ्जमा शाखा सञ्चालनमा ल्याएको हो । शाखाको उदघाटन गर्दै नेपलगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरुप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा […]

सम्बन्धित