एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका संक्रमणमुक्त बालबालिका

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १७:५१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।

एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि सङ्क्रमित आमाबुवाको खुशीको सीमा छैन । उनीहरु निकै उत्साहित भएका छन् । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त रहेको पाइएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि सेवन गरिरहेका सङ्क्रमितको सङ्क्रमणमुक्त शिशु जन्मिरहेको बताए ।

उनले भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दैआएका सङ्क्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त रहेको बताए ।


रिता केसी (नाम परिवर्तन) एचआइभी सङ्क्रमित छन् । उनका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी सङ्क्रमण छ । तर कान्छी छोरी भने सङ्क्रमणमुक्त जन्मिइन् ।

चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी कान्छी छोरी स्वस्थ जन्मिएको डा. रिसालले बताए । डा. रिसालका अनुसार रिताको छोरी मात्र होइन सङ्क्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि सङ्क्रमणमुक्त छन् । चिकित्सकको सल्लाहअनुसार नियमित एआरटी सेवा लिएका सङ्क्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिनेगरेको छ ।

भेरी अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका ६ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ फागुनमा एआरटी सेवा शुरु भएको थियो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५७० जना सङ्क्रमित उपचारका लागि नियमित आउनेगरेको सो अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टीका लगाउने र आशीर्वाद थाप्ने क्रम शुक्रवार पनि जारी

९ कार्तिक २०८०, बिहीबार १७:५१
नेपालगञ्ज : शुक्रवार आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम शुक्रवार पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ । […]