मौलिक इतिहास बोकेको नेपालगञ्जमा रामलीला जारी

सदरलाइन संवाददाता ६ कार्तिक २०८०, सोमबार १५:०३
 

नेपालगञ्ज : विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगञ्जको ऐतिहासिक रामलिलाको महत्व बेग्लैछ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनकता बेग्लै बनाउने गरेको छ ।

विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि शुरु भएको रामलिला मञ्चनले रामायण बुझ्न सहज हुनेगरेको आयोजकले जनाएको छ । रामलीलाका कारण रातिको समयमा नेपालगञ्जमा मानिसको चहलपहल हुँदैआएको छ ।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको बताए ।

उनले भने, “यो वर्ष विगतका वर्षमाजस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ । भारतको वृन्दावनबाट २५ जना कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।”

भगवान् श्रीरामको भूमिकामा रहनुभएका भारत वृन्दावनका कलाकार राधारमण शर्माले नेपालगञ्जको रामलिला ऐतिहासिक र विशेष महत्वको रहेको बताए ।

शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलाकारले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्नेछन् ।


नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढसय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले बताए ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी भइरहेका छन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको आयोजकको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुआत गरेका थिए ।

रामलीला सञ्चालक समितिका प्रवक्ता आदित्य गुप्ताले सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको जनाउँदै यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीय समुदायमा लोकप्रिय रहेको बताए ।

उनले भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि यहाँ हरेक वर्ष आउनेगरेको बताए । रामलीला मञ्चनका लागि हरेक वर्ष १० देखि १५ लाख रुपियाँसम्म खर्च हुनेगरेको समितिले जनाएको छ । समितिका अनुसार बर्षेनी लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइने गरिएकाले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना तयार भइरहेको छ ।

कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्यले यहाँको ऐतिहासिक रामलीला सामाजिक सद्भाव र नेपाल–भारत मैत्रीको प्रतीकसमेत बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लघुकथा संग्रह ‘अक्षर’ को विमोचन

६ कार्तिक २०८०, सोमबार १५:०३
नेपालगञ्ज : साहित्यकार सनत सापकोटाको लघुकथा संग्रह ‘अक्षर’ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाका शताब्दी पुरुष नन्दलाल पौडेलले अक्षर लघुकथाको विमोचन गर्दै साहित्यप्रति जनमानसमा बढ्दै गएको रुचि सह्रानीय रहेको बताए । कृतिकार सनत सापकोटाले सय वर्ष कटेका आदरणीय व्यक्तित्व पौडेलबाट कृति विमोचन गराउन पाउँदा […]