जमुनाहा नाकाबाट घर फर्किने बढे

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १४:०९
 

नेपालगञ्ज : दसैँतिहार नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दसैँतिहार मनाउन सयौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा अहिले नेपाल फर्किरहेकाले सिमानामा निकै चहलपहल र भिड बढेको सिमानास्थित जमुनाहा प्रहरीले जनाएको छ । दसैँ आउन केही दिन मात्र बाँकी रहेको अवस्थामा अहिले दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म नेपाली भारतबाट घर फर्किन सिमानामा पुगिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई मिनबहादुर विष्टले जानकारी दिए ।

प्रमुख विष्टका अनुसार यसअघि सिमाना पारि र सीमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दै आएकाले सो रोक्न दुवैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको छ ।

उनले सोही कारणले हालसम्म त्यस्तो कुनै पनि घटना हुन नसकेको बताए । भारतबाट रोजगारी गरेर चाडपर्व मनाउन फर्किनेमा अधिकांश नेपाली सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, मुगु, रुकुम र दाङ जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।


अधिकांश नेपाली भारतको सिमला, कुल्लु, मनाली, चन्दीगढ र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहाका प्रहरी प्रमुख विष्टले जानकारी दिए ।

चाडपर्व मनाउन फर्किनेलाई विभिन्न प्रकारका सहयोग गर्नका लागि नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । सो हेल्प डेस्कले नाकामा पुगेर सीमापारि रहेका नेपालीलाई सहजीकरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घर फर्किने क्रममा जमुनाहा नाकामा भेटिनुभएका सुर्खेत रामघाटका हरिबहादुर थापाले यस पटक सहज रूपमा नाका पार गरिएको जनाउँदै ठगी र लुटपाट नभएको बताए ।

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठोरले भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्व मनाउन फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने घटना हुन नदिन कडा व्यवस्था मिलाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैँको दोस्रो दिन, ब्रह्मचारिणीदेवीको पूजा गरिँदै

२९ आश्विन २०८०, सोमबार १४:०९
नेपालगञ्ज : दशैँको दोस्रो दिन सोमवार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन […]