बाँके र बर्दियाका दुई लाखलाई पाइप प्रणालीको पानी सुविधा

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १५:०१
 

नेपालगञ्ज : बाँके र बर्दियामा ५४ वटा खानेपानी आयोजना सम्पन्न भई पानी सञ्चालनमा आएको छ । बाँकेमा २८ र बर्दियामा २६ खानेपानी आयोजना सम्पन्न भई पानी वितरण शुरु भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले बताए ।

उनले आर्थिक वर्ष ०७९–०८० सम्म बाँकेका ९२ हजार ४२८ अर्थात १५ दशमलव ३२ प्रतिशत नागरिकले पाइप प्रणालीको पानी पिउन पाएको बताए । त्यसैगरी, बर्दियाका ६१ हजार ६०६ जना अर्थात १३ दशमलव ४० प्रतिशतले पाइप प्रणालीको पानी पिउन पाएका छन् ।

बाँकेमा सवैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई संचालनमा आएका छन् । त्यहाँ २२ वटा आयोजना संचालनमा छन् भने १३ वटा योजना निर्माण पूरा भई पानी वितरण सुरु भएको छ । डिभिजन प्रमुख न्यौपानेका अनुसार खजुरा गाउँपालिकामा संचालनमा रहेका पाँच वटा खानेपानी आयोजनाले पानी वितरण शुरु गरेका छन् । त्यहाँ १० वटा आयोजना अहिले सञ्चालनमा छन् ।

त्यसैगरी, कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेको छ भने पाँच आयोजना संचालनमा छन् । बैजनाथ गाउँपालिकामा संचालनमा रहेका ६ वटा आयोजना संचालनमा छन् भने चार आयोजना पूरा भई पानी वितरण गरिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीका चार आयोजना संचालनमा छन् । दुई वटा आयोजना पूरा भई पानी सञ्चालनमा आएको डिभिजन प्रमुख न्यौपानेले जानकारी दिए ।

जानकीमा ६, नरैनापुरमा नौँ र डुडुवामा पाँच खानेपानी आयोजना सञ्चालनमा छन् । ‘जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा खानेपानीका आयोजना सञ्चालनमा छन् । केहि निर्माण पूरा भएका छन् । केहि निर्माण भइरहेका छन्, तर अहिलेसम्म पानी संचालन भएको छैन,’ उनले भने ।


बर्दिया जिल्लामा सवैभन्दा धेरै खानेपानी आयोजना मधुवन नगरपालिकामा सम्पन्न भएका छन् । मधुवनमा आठ वटा आयोजना सम्पन्न भई पानी वितरण भएको छ । त्यसैगरी, ठाकुरबाबा, बाँसगढी र बार बर्दिया नगरपालिकामा चार–चार तथा गुलरिया नगरपालिकामा तीन, राजापुर नगरपालिका क्षेत्रमा दुई र गेरुवा गाउँपालिकामा एउटा आयोजना सम्पन्न भई पानी संचालनमा आएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म खानेपानी आयोजना सम्पन्न नभएको डिभिजन प्रमुख न्यौपानेले बताए ।

गत आवसम्म बाँकेमा ६८ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । बहुवर्षे आयोजना अन्तरत सञ्चालनमा रहेका यी आयोजना मध्ये चालू आर्थिक वर्षमा करिव ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘अधिकांश आयोजना सम्पन्न हुने क्रममा छन् । चालू आवमा धेरैभन्दा धेरै आयोजना सम्पन्न गर्ने र बाँकेका २५–३० प्रतिशत नागरिकलाई पाइप प्रणालीको पानी पिउने पहुँचमा पुर्याउने योजना छ । सरकारले पर्याप्त वजेट पठाए धेरै योजना एकसाथ सम्पन्न गर्न सकिन्छ र सरकारको लक्ष्य पूरा गर्न सकिन्छ,’ उनले भने ।

त्यसैगरी, बर्दिया जिल्लामा ५७ वटा खानेपानी आयोजना सञ्चालनमा रहेको खानेपानी डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । डिभिजन प्रमुख न्यौपानेका अनुसार बर्दिया जिल्लामा खानेपानीका २६ आयोजना सम्पन्न भई पानी वितरण शुरु भएको छ ।

गत आवमा मधुवन नगरपालिकामा आठ, बार वर्दिया नगरपालिकामा चार, गुलरिया नगरपालिकामा तीन, ठाकुरबाबामा चार, बाँसगढी नगरपालिकामा चार र राजापुर दुई र गेरुवामा एउटा आयोजनाले पानी वितरण सुरु गरेका छन् । बढैयाताल गाउँपालिकामा अहिलेसम्म पाइप लाइनको खानेपानी वितरण हुन सकेको छैन । त्यहाँ खानेपानीका सात आयोजना सञ्चालनमा छन् ।

आयोजनाका लागि पर्याप्त बजेट उपलब्ध नहुँदा समयमा पूरा हुन नसकेको डिभिजन प्रमुख न्यौपानेको भनाई छ । ‘एउटा योजना सम्पन्न गर्न एक करोडदेखि १२ करोडसम्म लाग्छ, तर एउटा आयोजनाका लागि एक वर्षमा २०–२५ लाख रुपैँयामात्र आउँछ,’ उनले भने, ‘पर्याप्त वजेट नआउँदा एउटा आयोजना पूरा गर्न पाँच–सात वर्ष लाग्छ । सरकारले नयाँ आयोजना सुरु गर्ने भनेर बजेट पठाउँछ, तर यति सम्पन्न गर्ने भनेर बजेट पठाउँदैन । पर्याप्त बजेटसँगै स्थानीयको श्रमदान पनि सोँचे जस्तो हुन सकेको छैन ।’

उनले पाइप प्रणालीको पानी पिउन नमान्ने चलन अहिले पनि विद्यमान रहेको बताए । ‘पाइप प्रणालीको पानी भन्दा हेण्डपम्पको पानीमा विश्वास गरेको पाइन्छ । पाइप प्रणालीको पानी पुगेका ठाउँका नागरिकले समेत हेण्डपम्पको पानीमा रुची देखाएको पाइन्छ,’ उनले भने, ‘स्थानीयले रुची नदेखाउँदा पाइप प्रणालीको पानी वितरण गर्न समस्या देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घटस्थापनादेखि नेपालगञ्ज–लखनउ सोझै बस सेवा

२७ आश्विन २०८०, शनिबार १५:०१
नेपालगञ्ज : नेपालगञ्जबाट भारतीय शहर लखनउका लागि यातायातको सोझो र सजिलो माध्यम जोडिने भएको छ । त्यसका लागि नेपालगञ्जका व्यवसायीले सोझै बस सेवा सञ्चालन गर्ने भएका हुन् । ‘घटस्थापनाको दिन विहानैदेखि डाइरेक्ट बस सेवा शुभारम्भ गर्दैछौं’, बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले भने, ‘हरेक दिन विहान जाने र बेलुका फर्किने […]

सम्बन्धित