जमुनाहा नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

सदरलाइन संवाददाता २६ आश्विन २०८०, शुक्रबार १३:१०
 

नेपालगञ्ज : रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम शुरु भएको छ ।

नेपालगञ्जस्थित जमुनाहानाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहानाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाहा इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिए ।

“केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ”, उनले भने, “बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म जुमनाहानाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।”

जमुनाहा नाकामा भेटिएका जाजरकोट बारेकोट गाउँपालिकाका भीमबहादुर गिरीले भारतको सिमलामा रोजगारी गरेर दसैँ मनाउन घर फर्किएको बताए । गत वर्ष दसैँ–तिहार मनाएर मङ्सिरमा रोजगारीका लागि सिमला पुगेका उनले घरपरिवारलाई लत्ताकपडा र दसैँ खर्च लिएर घर फर्किएको जानकारी दिए । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्चको जोहो गरेको गिरीको भनाइ थियो ।


दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमाननाका जमुनाहामा लर्को लाग्ने गर्दछ । सल्यानको शारदा नगरपालिकाको हिउल्चा गाउँका भरत विकले वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । भरतकै सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार भारतबाट घर फर्किने नेपालीलाई लक्ष्य गरी जमुनाहानाकामा नेपाल प्रहरीले नागरिक सहायताकक्ष स्थापना गरेर काम गरिरहेको छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रयोगमा नआउँदै बिग्रियो चिस्यान केन्द्र

२६ आश्विन २०८०, शुक्रबार १३:१०
दाङ : दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुलीमा किसानले उत्पादन गरेका तरकारी र फलफूल राख्नका लागि निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा नआउँदै बिग्रिएको छ । गलत डिजाइन र उपयुक्त ठाउँ छनोट नगरी चिस्यान केन्द्र बनाउँदा निर्माण भएको एक वर्ष नबित्दै भवन बिग्रिएको हो । चिस्यान केन्द्रको दक्षिण फर्केको भवन एउटा कुनाबाट भासिँदै गएको छ […]