नेपालगञ्ज : नेपालगञ्जमा शान्ति र सदभाव कायम गर्ने उद्देश्यले बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने, र नेपालगञ्जमा जारी कर्फ्युलाई क्रमशः खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको जानकारी नेपालगञ्जका मेयर प्रशान्त विष्टले गराए ।
बैठकमा उपस्थित सबैले अव उप्रान्त सदभाव भड्कीन नदिने सामुहिक प्रतिबद्धता जनाइएको छ । बैठकले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागीता हुने गरि सदभाव र्याली निकाल्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।
बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिक दलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको थियो ।
नेपालगञ्जमा सामाजिक सद्भाव भड्किदै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगञ्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ ।