पुराना राजनीतिक दलले यथास्थितिमा मिसन–८४ भन्नु जनताप्रतिको धोका हो : रवी लामिछाने

सदरलाइन संवाददाता १३ आश्विन २०८०, शनिबार १५:४५
 

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अझै पनि चार वर्षको प्रर्याप्त समय रहेको बताउदै नत्र मिसन–८४ आफ्ना पक्षमा निर्वाध हुने दावी गरेका छन् ।

रास्वपाको नेपालगञ्ज नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले सो दावी गरेका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरु मिलेर सरकार बनाउन सुझाव दिए ।

सभापति लामिछानेले भने, ‘लामो समय सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका हो, मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने अभियान हो ।’ उनको भनाई पुराना राजनीतिक दलहरु यथास्थितिमै अघि बढ्न नसक्ने ठोकुवा छ ।


बर्तमान सरकारलाई शङ्काको सुविधा दिएर समर्थन जनाएको भन्दै सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाए । सरकारको निर्णयको बिरोध गर्ने हो भने माइतीघर मण्डलामै बास हुने भन्दै उनले सरकारको ध्यान अलोकप्रिय निर्णयमा जानेगरेको दाबी गरे ।

अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप ब्यक्तिलाई जोगाउने काम गरिरहेको उनको भनाइ छ । राजनीतिक दलका नेताहरु कमाउधन्दामा लागेका कारण देश बन्न नसकेको भन्दै राजनीतिक दलका भातृ सङ्गठनका कारण पनि समस्या उत्पन्न हुनेगरेको उनको भनाइ छ ।

राजनीतिक दलको नेतृत्वले मतदातालाई नभई चन्दादातालाई हेरेर कानून बनाउने गरेको भन्दै उनले राजनीतिक दलको नेतृत्वका कारण देशले दुःख पाएको टिप्पणी गरे । उनले जनताले सिटामोल र जीवनजल नपाउने तर नेताहरु विदेशमा उपचार गर्न जाने प्रचलन बन्द गर्नुपर्ने बताए ।

पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उनले ब्यक्तिको आदेशमा नभइ विधीको शासनमा पार्टी सञ्चालन भइरहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाई, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्याँसको मूल्य २ हजार १ सय१० पुग्यो

१३ आश्विन २०८०, शनिबार १५:४५
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याँसकाे मूल्यमा जनताकाे ढाड सेक्ने गरि वृद्धि गरेको छ ।पेट्रोलियम  पदार्थको मूल्य वृद्धि गर्ने क्रममा निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले हवाइ […]