नौवस्ता औद्योगिक क्षेत्रको टेण्डर तत्काल गर्ने निर्णय

सदरलाइन संवाददाता ६ आश्विन २०८०, शनिबार १३:५३
 

नेपालगञ्ज : बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल शुरु गर्ने निर्णय गरिएको छ । बाँके प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा नेपालगञ्जमा बसेको सर्बपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्दै जाने तर तत्कालका लागि पुर्बाधार निर्माणको काम पनि शुरु गर्ने सहमति जुटाएको छ । सम्भवत हप्तादिन भित्र नै टेण्डर आह्वान गरिने छ ।

प्रस्तावित जग्गामा बसोबास गर्नलाई व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका कारण यसअघि काम शुरु हुन सकेको थिएन । जनप्रतिनिधी, उद्योग मन्त्रालयका अधिकारी, सांसद, व्यवसायीहरुको भेलाले नौवस्ता औद्योगिक क्षेत्रको नाममा रहेको खालि जग्गाबाट काम शुरु गर्ने सहमति जुटाएको हो ।

प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

पटक पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन ।

स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् ।


सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि दुई करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको थियो । तर, काम शुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । चालू आवमा ४५ करोड बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने नहुने केही पनि निश्चित नरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक पटकको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । ६ वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र इआइएबाहेक अरू कुनै काम गर्न सकिएको छैन ।

उहाँकाअनुसार नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुनेछन् । ३५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्रसमेत दर्ता गरिसकेका छन् ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भैसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाव बढ्दै गएको छ । २०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलसुधार गृह झडप : चार जना अझै सम्पर्कविहीन

६ आश्विन २०८०, शनिबार १३:५३
नेपालगञ्ज : डुडुवा गाउँपालिका ६ स्थित जयन्दु बालसुधार गृहमा झडपका क्रममा भागेका चार जना अझैँ सम्पर्कविहीन छन् । बालसुधार गृहबाट भागेका अन्यलाई नियन्त्रणमा लिए पनि चार जना अझैँ फेला नपरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । बालगृह तोड्फोड गरि भागेका अन्यलाई नेपालगञ्ज र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको […]