भाडाकी आमा बनाउन महिला बेचिएको खुलासा

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार १४:०६
 

नेपालगञ्ज : रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पुर्याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ । ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ । केही दिनअघि माइती नेपालको सम्पर्कमा आएका महिलाले उक्त घटनाको खुलासा गरेका हुन् ।

माइती नेपाल नेपालगञ्ज कार्यालय प्रमुख केशव कोइरालाले बेचबिखनमा परेका दुई महिलालाई भाडाकी आमा बन्न बाध्य पारिएको जानकारी दिए ।

नेपाली महिलालाई सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) मा प्रयोग गरिएको घटना मानव बेचबिखनको नयाँ रूपमा भएको जानकारी दिँदै उनले यसले घटनाले आफूलाई अतिनै गम्भीर बनाएको बताए ।

कोख भाडामा लिने समस्या मानव बेचबिखन नियन्त्रण र रोकथामका लागि झन् चुनौतीपूर्ण बन्दै गएको उनले बताए । माइती नेपालका अनुसार बेचबिखनमा परेका बाँकेका ती दुई जना महिलालाई बच्चा जन्माइसकेपछि घर फिर्ता पठाइएको थियो ।


घर फर्किएपछि माइती नेपालको सम्पर्कमा आएका उनीहरूले आफूहरूमाथि घटेको बर्बर घटनाको वृत्तान्त सुनाएपछि नेपाली महिलालाई भारतमा बन्धक बनाएर भाडाकी आमा बन्न बाध्य पार्ने गरेको रहस्य खुलेको हो । ती महिलालाई माइती नेपाल नेपालगञ्जको ‘सेल्टर’ मा राखेर आवश्यक परामर्श दिएपछि परिवारमा पुनःस्थापना गरिने भएको छ । यो घटनाको खुलासाले बेचबिखनविरुद्ध सक्रिय सङ्घसंस्था र सरकारी निकायलाई गम्भीर हुन बाध्य बनाएको छ ।

माइती नेपालका अनुसार, पीडित दुई महिला आफन्तको सहारामा रोजगारीका लागि मुम्बई पुगेका थिए । त्यहाँ उनीहरूलाई एउटा फ्ल्याटमा बसाइयो र केही दिनपछि अब तिमीहरूले बच्चा जन्माउने काम गर्नुपर्छ भनियो ।

यो सुनेर महिलाले प्रतिवाद त गरिन् तर बन्धक बनाइएका कारण उन्मुक्ति पाउन सकेनन् । अन्ततः बच्चा जन्माइसकेपछि घर पठाइयो घटना विवरण सुनाउँदै उनले भनिन् । घर फर्किएका ती महिलाका अनुसार, त्यहाँ फ्ल्याट लिएरै महिलालाई बच्चा जन्माउन बाध्य पारिएको छ र त्यहाँ अन्य नेपाली महिला पनि छन् । उनीहरूकै सूचनाका आधारमा माइती नेपालले अन्य महिलाको उद्धार प्रयास गरेको भए पनि उक्त फ्ल्याट नै फेरिएको बताइएको छ । अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई सेरोगेसी भनिन्छ ।

यो नेपाल र भारतमा कानुनी रूपमा अवैध मानिन्छ तर लुकिछिपी यस्तो कार्य हुँदै आएका छन् । नेपाली महिलालाई भारतमा लगेर जबरजस्ती सरोगेसीमा प्रयोग गरिएको यो घटना नौलो हो । विगतमा देहव्यापार तथा यौन तथा शारीरिक कामका लागि नेपाली महिलालाई प्रयोग गरिने गरेका घटना सार्वजनिक हुने गरेका थिए । सरोगेसी पनि महिला बेचबिखनको अर्को चुनौती भएको भनाइ सरोकारवाला निकायको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरियाको भिसा रद्द गरी गाउँमा कृषि कर्म

२६ भाद्र २०८०, मंगलवार १४:०६
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११ कृषि रोडका ३८ वर्षीय सर्वजित बंशीमगरले करिब ९ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताए । भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर उनी दुई वर्षदेखि कृषि व्यवसायमा जुटेका छन् । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका –४ एफगाउँमा कृषि फर्म सञ्चालन गरेका […]