२८ करोडमा निर्माण गरिएको सभागृह प्रयोगबिहीन

सदरलाइन संवाददाता २५ भाद्र २०८०, सोमबार १५:१२
 

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव रु २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो ।

सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए ।

सो सभागृह डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ ।


निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीको भनाइ छ । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए ।

सभागृहमा नौ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।

सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न चालु आर्थक वर्षमा रु २५ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी दिए । निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड– १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण

२५ भाद्र २०८०, सोमबार १५:१२
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले सञ्चलान गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । विपन्न बालवालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरुको भर्ना संख्या बढ्दै गएको हो । छात्राहरुलाई घरधन्दामा मात्र सीमित गर्दे आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैंले छात्रा भर्ना अभियानलाई तीव्रता […]

सम्बन्धित