बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

सदरलाइन संवाददाता २४ भाद्र २०८०, आईतवार १४:१२
 

नेपालगञ्ज : बाँके जिल्लामा केही दिन यता भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन् ।

घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका कारण यस्ता बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालगञ्जका वरिष्ठ फिजिशियन डा.प्रकाश नागले मौसमका कारण भाइरलको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको जानकारी गराए ।

उनले अहिले दैनिक ६० जनासम्म भाइरल फ्लुका बिरामीहरू क्लिनिकमा पुग्ने गरेको बताए । सोही प्रकारले नेपालगञ्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामी आउनेक्रम बढेको चिकित्सकले जनाएका छन् ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामी अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् ।


उनले भेरी अस्पतालमा मात्र दैनिक सयदेखि दुई सय जनासम्म भाइरलफ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको र ती मध्ये केहीको उपचार लामो समयसम्म गर्नु परेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपुर्याउँदा भाइरलफ्लुको बिरामी बढेको चिकित्सकहरूको भनाइ छ ।

नेपालगन्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामी आउने क्रम अहिले बढेको बताए ।

नेपालगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डा. शकिल अहमदले मौसम परिवर्तनको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा उनीहरूको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले अहिले बालबालिका ठुलो सङ्ख्यामा भाइरल ज्वरो र पखालाबाट पीडित भइरहेको जनाउँदै सचेत रहन अभिभावकसँग अपिल गरेका छन् । अहिले डेंगु र मलेरियाकोसमेत जोखिम उच्च रहेको हुँदा भाइरल फ्लुलाई भाइरलमा मात्र सीमित गरेर हेर्न नहुने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान

२४ भाद्र २०८०, आईतवार १४:१२
खजुरा (बाँके) : बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्यूनीकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी एकाइहरुले आत्महत्या न्यूनीकरणको अभियान चलाएका हुन् । इलाका प्रहरी कार्यालय धनौलीले ग्रामीणस्तरमा आत्महत्या न्यूनीकरण अभियान चलाएको प्रहरी नायब निरीक्षक लिलबहादुर नेपालीले जानकारी दिए । प्रहरी नायब […]