कांग्रेसलाई विकेन्द्रिकरण गर्न आवश्यक छ : डा. शशांक

सदरलाइन संवाददाता ९ भाद्र २०८०, शनिबार १९:३४
 

नेपालगञ्ज : नेपाली कांग्रेसका नेता  डा. शशांक कोइरालाले कांग्रेसलाई नयाँ शिराबाट लिएर जानको लागि विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री समेत रहेका नेता कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गरे ।

जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रृबिकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिए ।

गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने बताउदै कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नु परिरहेको औल्याउँदै उनले कांग्रेस सक्षम भए कसैसंग पनि गठबन्धन गर्नु नपर्ने बताए । नेता कोइरालाले भने–‘कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन, हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।’

उनले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गर्नुभयो । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निमूल गर्न नसके पनि कम गर्न सकिने बताए । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा विग्रिने भन्दै उनले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिए ।


केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गरेका थिए ।

सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसंग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसंग मिलेर कांग्रेससंग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराए । पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उनले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिए ।

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले आफ्ना सुझाब, सल्लाह, प्रश्न नेताहरुसमक्ष राखेका थिए । उपसभापति कृष्णबहादुर काकीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयुक्तको बिरोधमा उत्रिए नेपालगञ्जका व्यवसायी

९ भाद्र २०८०, शनिबार १९:३४
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वाचन आयुक्त टिकाजंग सिंहको गैरजिम्मेवारीपनको बिरोध गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको मुलगेटमा कालो ब्यानर टाँगेर साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समुहका तर्फबाट आइतबार बिहान बिरोध गरिएको हो । बिरोधका क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका उपाध्यक्ष धु्रब दाहाल, नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित […]

सम्बन्धित