डुडुवाद्वारा कृषि मूलबीउ उत्पादन शुरु

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १५:४६
 

डुडुवा (बाँके) : किसानलाई विउवितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि वीउ उत्पादनको काम शुरु गरेको छ । यस वर्ष धान रोपाई हुनु अगावै धानको मुलबीउ उत्पादन गर्न पालिकाअन्र्तगत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।

किसानहरुको जमिनमा लगाइएको मुलबीउपछि उन्नत बीउ तयार गरि आगामी वर्ष किसानहरुलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । उनकाअनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरि सहकारीमार्फत किसानलाई वितरण गरिनेछ ।

९० टन बीउले एक हजार ५०० हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मुलबीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मुलवीउ उत्पादनपछि वीउविजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताए ।

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) खजुराबाट रु ८५ प्रतिकिलो दरमा वीउखरिद गरि ल्याइएको छ ।

किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र सामग्री र सिँचाई सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताए । उनकाअनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ । यो वर्ष उत्पादित वीउलाई आगामी वर्ष किसानहरुलाई सहकारीमार्फत सहुलियत दरमा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।


पालिकाले उन्नत जातको वीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक वीउ प्रशोधन केन्द्रमा वीउ भण्डारणको काम शुरु गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बिउ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि भौतारिनु पर्ने अवस्था आउँदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरि कृषि उत्पादनमा बृद्धि गर्ने छ ।

अध्यक्ष चौधरीले किसानलाई बिउमा आत्मनिर्भर गराउने पालिकाको रणनीति अनुसार वीउ भण्डार शुरु गरेको र बिउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरि सञ्चालनमा ल्याइएको बताए । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा २ स्थित ६ सय मेट्रिक टन क्षमताको बिउ भण्डारण घर स्थापना गरिएको छ ।

डुडुवाको कुल क्षेत्रफल ९ हजार १ सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन ४ हजार २ सय १८.०९ हेक्टर रहेको छ । वडा अनुसार हेर्दा सबैमा आधा क्षेत्रफल मात्रै खेती योग्य जमिन छन् । पालिकामा धान बालीको औषत उत्पादन प्रतिहेक्टरमा ४ दशमलव ३ मेट्रिक टन रहेको छ । मकै बाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

६ भाद्र २०८०, बुधबार १५:४६
काठमाण्डौ : काठमाण्डौबाट पोखरा हिंडेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे उक्त ब्स धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएक्क जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । […]