कोहलपुरको बसपार्क शुक्रवारदेखि सञ्चालन

सदरलाइन संवाददाता १ भाद्र २०८०, शुक्रबार १७:२०
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा निर्माण गरिएको पश्चिम नेपालकै अत्याधुनिक बसपार्क उदघाटन भएको ४० दिनपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

३० करोड ६२ लाख रुपियाँको लागतमा निर्माण गरिएको सो बसपार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत असार २४ गते उदघाटन गरेका थिए । बसपार्कभित्रका धेरै संरचनाहरु भाडामा लाग्न ढिला भएकाले उदघाटनको ४० दिनपछि सञ्चालनमा आएको बताइएको छ ।

बसपार्कको समग्र व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले शुक्रवारदेखि सो बसपार्कबाट लामोदूरीका बस र छोटोदूरीका बसहरु सञ्चालनमा आएको बताए ।

उनले टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर शुक्रबारबाट बसपार्क सञ्चालन गरिएको बताए । बागेश्वरी यातायात व्यवसायी प्रालिका अनुसार उक्त अत्याधुनिक बसपार्कभित्र ठूला बस र साना बसहरु छुट्ने र पार्किङ गर्ने स्थान फरक–फरक व्यवस्था गरिएको छ ।

बसपार्कमा गाडीहरु पश्चिमबाट प्रवेश गर्ने र दक्षिणबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । बसपार्क व्यवस्थापन समितिको संयोजक हेमविक्रम जिसीले मूल गेटको साइडमा नै बसपार्कभित्र के–के गर्ने वा नगर्ने र के गर्दा कारवाही भोग्नुपर्ने जस्ता सबै जानकारीसहितको सूचना टाँस गरिएको बताए ।

उनले पाँच बिघा १६ कठ्ठा जमिनमा निर्माण भएको सो बसपार्कभित्र पार्क तथा विश्रामस्थल, स्तनपान कक्ष, धूमपान कक्ष, नागरिक सहायता तथा सुरक्षा कक्ष लगायत सूचना प्रविधि सुविधा उपलब्ध रहेकोे बताए ।


बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७७७ रुपियाँ नगरपालिकालाई तिर्नेगरी बागेश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको र ४० प्रतिशत कोहलपुर नगरपालिकाले गरेको बताए ।

उनले नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको जनाउँदै बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ्ग स्टेशनको व्यवस्था पनि मिलाइएको बताए ।

पश्चिम नेपालकै अत्याधुनिक दावी गरिएको सो बसपार्क ३० करोड ६२ लाख ७ हजार ७०१ रुपैयाँको लगानीमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट १८ करोड ३७ लाख २४ हजार ६२१ रुपैयाँ ऋण लिइएको छ भने नगरपालिकाले १२ करोड २४ लाख ८३ हजार ८० रुपैयाँ लगानी गरेको छ ।

बसपार्कभित्रै निर्माण गरिएका ५९ वटा सटरमा व्यवसाय सञ्चालन भइसकेको बागेश्वरी यातायात व्यवसायी प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौवस्ता औद्योगिक क्षेत्र नबन्दा व्यवसायी निरास

१ भाद्र २०८०, शुक्रबार १७:२०
नेपालगञ्ज : बाँके बैजनाथमा निर्माण गर्ने भनिएको नौवस्ता औद्योगिक क्षेत्र नबन्दा उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका व्यवसायी निरास बनेका छन् । उद्योग संचालनका लागि ती व्यवसायीले सात वर्ष अघि प्रस्ताव गरेका थिए । आवेदन दिएको यतिका समय बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका […]