नेपालगञ्जका ११ हजार सर्वसाधारण भूकम्पको उच्च जोखिममा

सदरलाइन संवाददाता १७ श्रावण २०८०, बुधबार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन् । उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नम्बर ३ र वडा नम्बर ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार आठ सयभन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन् ।

बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययन अनुसार पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जका तीन हजार घर ध्वस्त हुन सक्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका प्रमुख प्रशान्त विष्टले भूकम्पबाट हुन सक्ने क्षति रोक्न र कम गर्न सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनामार्फत विभिन्न कार्य भइरहेको बताए ।

उनले विपद् जोखिम बिमासम्बन्धी कार्यविधि–२०८० बनाएर जोखिमग्रस्त क्षेत्र आवास बिमा लागु गरिएको जनाउँदै यसरी यो कार्यविधि बनाउने र आवास बिमा लागु गर्ने नेपालगन्ज देशकै पहिलो स्थानीय तह भएको दाबी गरे । सो बिमा कार्यक्रम भूकम्पको अत्यधिक जोखिममा रहेको नेपालगन्जको वडा नम्बर ३ र ७ मा लागु गरिएको छ ।


उपमहानगरका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रिजालले दुई वटा वडाका पुरानो बस्ती र मापदण्डविपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेकाले उनीहरूको विपद् जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सो कार्यक्रम अन्तर्गत उपमहानगरले जोखिममा रहेका घरको १५ लाखको बिमाबापत लाग्ने प्रिमियम दिने र सोभन्दा बढीको बिमा गराउन चाहनेले प्रिमियम थपेर दिन सक्ने व्यवस्था मिलाइएको छ ।

सो बिमा कार्यक्रमले भूकम्प मात्र नभई आगलागी, बाढी डुबान, जमिन धसिने वा भासिने, हावाहुरी, चट्याङ र हवाई दुर्घटनाबाट भएको क्षतिमा पनि सुरक्षा प्रदान गर्ने छ ।

शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले उपमहानगरका जोखिममा रहेका वडामा विभिन्न तालिम दिनुका साथै सर्वेक्षण, नक्साङ्कनलगायतका काम गरिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्यजन्य फोहरमाथि मेयरको निगरानी !

१७ श्रावण २०८०, बुधबार १४:१६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट बुधवार विहानै सडकमा निस्के । मोर्निङ वाकको हुलियामा घरबाट निस्केका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुगे । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालसँगै चारबाहिनी चोकसम्म पुग्दै गर्दा उनीहरुले सडकमा स्वास्थ्यजन्य फोहरसंगै सरसफाईको अवस्थाबारे अनुगमन गरेका […]

सम्बन्धित