बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

सदरलाइन संवाददाता १५ श्रावण २०८०, सोमबार १४:३०
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै पर्यटकहरू पनि बढ्न थालेका छन् । पछिल्लो समय बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ मात्र रहेकोमा १३ वर्षपछि अहिले बाघको सङ्ख्या बढेर २५ पुगेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिए । निकुञ्ज स्थापना भएको ८ वर्षमा २१ पुगेको बाघको सङ्ख्या १३ वर्षमा २५ पुगेको हो ।

निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० मा ३०२ जना पर्यटक बाघ अवलोकनका लागि आएका थिए । ती मध्ये २९० जना स्वदेशी र १२ जना विदेशी पर्यटक आएको निकुञ्जले जनाएको छ । बाघको सङ्ख्या बढेपछि आहारा प्रजाति र बासस्थान व्यवस्थापनमा ध्यान दिइएको सूचना अधिकारी भुसालले बताए ।


पाटेबाघको संरक्षण गर्ने उद्देश्यका साथ वि.सं. २०६७ साल आषाढ २८ गते बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा नेपाली सेनाले शुरु गर्यो बृहद् वृक्षरोपण

१५ श्रावण २०८०, सोमबार १४:३०
नेपालगञ्ज : बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाहमा वृक्षरोपण शुरु गरेको छ । ब्यारेकपछाडिको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाहमा सोमबार वृक्षरोपण शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति […]