भारतीय कुखुरा र चल्ला अवैधरुपमा भित्र्याउने क्रम जारी

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १६:००
 

नेपालगञ्ज : वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन ।

नाकामा तस्करी गर्नेहरूले दिनहुँजसो ठुलो परिमाणमा प्रतिबन्धित चल्ला र कुखुरा भित्र्याइरहेका छन् । विभिन्न सहायक बाटो हुँदै दिनदिनै तस्करले साइकल, मोटरसाइकल, रिक्सा र गाडीमा राखेर चल्ला र कुखुरा भित्र्याइरहेका छन् ।

नेपाली किसान र व्यवसायीको आग्रहमा मुख्य र साइड दुवै नाकामा कडाइ गरे पनि अवैध चल्ला र कुखुरा भित्रिने क्रम भने निरन्तर जारी छ । प्रहरीको सक्रियताले मात्र सो रोक्न नसकिएपछि नेपाली किसान स्वयं नाकामा खटिने गरेका छन् । तर पनि अवैध रूपमा भित्रिने क्रम नरोकिएको उनीहरूको गुनासो छ ।

प्रहरीले नाकामा अहिले निकै कडाइ गरेको जनाए पनि गत बुधवार बिहान कोहलपुरबाट किसानले भारतबाट ल्याइएका एक हजारभन्दा बढी अवैध चल्ला बरामद गरेर प्रहरीलाई बुझाएका थिए ।


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार किसानले नियन्त्रणमा लिएर खबर गरेपछि प्रहरीले कोहलपुर –११ दशगजाबाट दुई दिनअघि मात्र भे १ प ३४१० नम्बरको अटोमा राखेर लैजान लागिएको १६ काटुर्नका एक हजार चल्ला नियन्त्रणमा लिएको थियो ।

डिएसपी तिवारीका अनुसार मीनबहादुर खनालले चलाएको सो अटोबाट उक्त चल्ला बरामद गर्नुका साथै मुगु खप्तयाड गाउँपालिका –३ का प्रवेश शाहीलाई पनि नियन्त्रणमा लिएर चल्ला र दुबैजनालाई पशु सेवा क्वारेनटाइनमा बुझाइएको थियो ।

कुखुरा व्यवसायी मञ्च नेपालगञ्ज बाँकेका अध्यक्ष धर्मराज पोखरेलले नेपाल–भारत नाका पार गरेर अटोमा राखी यति धेरै अवैध चल्ला कोहलपुर पुगे पनि सुरक्षा निकायको आँखा नपर्नु र किसानले समात्न लगाउनु गम्भीर विषय भएको बताए ।

खुला सिमानाका कारण भारतबाट दिनहुँ ठुलो परिमाणमा बोइलर कुखुरा र चल्ला भित्रिँदा कुखुरापालक किसान र मासु व्यवसायी दुवै मर्कामा परेको किसान र व्यवसायीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चोरीका घटनामा नबालिगको प्रयोग

१४ श्रावण २०८०, आईतवार १६:००
नेपालगञ्ज : नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ । प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ । पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन् । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले […]