नेपालगञ्जमा चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु

सदरलाइन संवाददाता १ श्रावण २०८०, सोमबार १४:२४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन सोमवारदेखि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताए । “अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उनले भने–चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।”


उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरे । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले गरेका थिए ।

हाल नेपालगञ्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगञ्जमा २० वटा एम्बुलेन्स सञ्चालनमा छन् । निःशुल्क एम्बुलेन्स सेवाका लागि सम्पर्क नम्बरः९८०८८६४८८९, ९८०८८६५०९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पक्राउ परेका पूर्वमन्त्री विजय यादवलाई बुटवल पठाइयो

१ श्रावण २०८०, सोमबार १४:२४
नेपालगञ्ज : पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको जारी भएको चेकबाट जाहेरी पर्दा रुपन्देही प्रहरीको आग्रहमा […]