कर्णालीका प्रत्येक घरमा नेपाल प्रहरीको नम्बर

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:५८
 

सुर्खेत : कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान शुरु गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको शुरुवात गरेका हुन् । सो क्रममा उपप्रधानमन्त्री खड्काले कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत मिल्ने बताए । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने विश्वास गरिएको छ ।

अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उनको भनाइ छ । यो अभियान प्रहरीको मात्र होइन भन्दै उपप्रधानमन्त्री खड्काले अभियानलाई सबै क्षेत्रले सहयोग गर्न आव्हान गरे । प्रहरी र जनतावीचको सम्बन्ध सुधार हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले प्रहरी सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताए । प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताले प्रहरीसँग पहुँच बढाउन, सुरक्षित प्रदेश बनाउन घर–घरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस अभियान थालिएको जनाए । यस अभियानबाट बिचौलियाको न्यूनीकरण हुने दावी उनले गरे ।


कर्णाली प्रदेशका तीन लाख ७१ हजार बढी घरधुरीमा स्टिकर टाँस गरिने बताइएको छ । डिआइजी ढकालले स्टिकर टाँस अभियान तीन महिनासम्म चल्ने र त्यसमा तीन हजार बढी प्रहरी परिचालन गरिने जानकारी दिए । स्टिकर टाँस गर्दा जनतासँग प्रत्यक्ष सचेतना दिइने, पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्न अभियानले सहयोग पुग्ने बताए । उनले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातेमालो गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकोले सार्थक बनाउन सहयोगको आग्रह गरे । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स, बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु

३१ असार २०८०, आईतवार १६:५८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन सोमवारदेखि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको हो । निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले […]

सम्बन्धित