पर्याप्त वर्षात् नहुँदा बाँकेमा रोपाईं प्रभावित

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:५३
 

नेपालगञ्ज : साउन महिना शुरु हुन लागिसक्दा समेत बाँकेमा पर्याप्त वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार असार–साउन महिना शुरु हुन लागेको बेलासम्म पनि पश्चिम नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाईं सकिएको हो ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले यस वर्ष हालसम्म बाँकेमा राम्रो वर्षा नै नभएकाले असार ३१ गते भइसक्दा समेत आधा मात्रै रोपाइँ सम्पन्न हुन सकेको बताए । उनले सिक्टा सिँचाइ आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलमार्फत सिँचाइ सुविधा पुगेको क्षेत्रको करिब १८ हजार हेक्टर क्षेत्रमा मात्रै हालसम्म रोपाईं भएको बताए ।

जिल्लामा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले गर्दा किसानलाई धेरै राहत भएपनि अझै अधिकांश ठाउँमा आकाशे पानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाको निर्माण पूरा हुनुका साथै अन्य विभिन्न साना सिँचाइ योजनाको निर्माण गर्न सकिए मात्रै समयमा धान रोपाईं गर्न सकिने बताए ।


उनका अनुसार अहिलेसम्म पनि पर्याप्त वर्षा नभएका कारण जिल्लाको नरैनापुर र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । प्रमुख अहमदले भने, ‘अझै केही दिन पर्याप्त वर्षा भएन भने गतवर्ष सुख्खा भएको नरैनापुरमा फेरि पनि समस्या हुने देखिएको छ । सो पालिकामा अन्य वैकल्पिक व्यवस्थाबारे अहिलेबाट नै योजना बनाउन थालेका छौं ।’

जिल्लाको खजुरा, बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सिँचाइ सुविधा अन्य ठाउँभन्दा बढी रहेकाले यी पालिकामा बढी रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साउन शुरु हुन लाग्दासम्म पनि पर्याप्त पानी नपर्दा जिल्लामा यस वर्ष समयमा धान रोपाईं सम्पन्न नहुने र सोही कारणले धान उत्पादन घट्ने किसानहरुले जनाएका छन् ।

बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म करिब १८ हजार हेक्टरमा मात्रै रोपाईं हुन सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका प्रत्येक घरमा नेपाल प्रहरीको नम्बर

३१ असार २०८०, आईतवार १६:५३
सुर्खेत : कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान शुरु गरेको हो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको […]

सम्बन्धित