कोहलपुरमा शपिङ कम्प्लेक्ससहितको बसपार्क

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १४:०७
 

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित चौराहामा शपिङ कम्प्लेक्ससहितको बसपार्क निर्माण गरिएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क साउन पहिलो साताभित्रै औपचारिक रुपमा सञ्चालन आउने भएको हो ।

नगर विकास कोषसँगको साढे ३० करोड ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो । नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

मुख्यमन्त्री डिल्ली चौधरीले आइतबार आयोजित कार्यक्रममा नयाँ बसपार्कको उदघाटन गरेका थिए । वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि नगर विकास कोषसँग सम्झौता भएको छ । २०७७ असोज २३ गते तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससँग सम्झौता गरेका हुन् ।

२०७७ फागुन २४ गतेबाट बसपार्क निर्माण कार्य सुरु गरिएको थियो । २०७९ निर्माण सकिएको बसपार्कको आइतबार उदघाटन गरिएको हो । बसपार्क निर्माण सम्पन्न भएसँगै कोहलपुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि ठेक्का सम्झौता गर्नुका साथै बसपार्कभित्र रहेका सटरहरु समेत भाडामा दिइसकेको जनाइएको छ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर पनि निर्माण गरिएको छ ।


बसपार्क साउनदेखि सञ्चालनमा आउने बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालिले पाएको हो । प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्ने बताइएको छ ।

बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यका अनुसार बसपार्कको सम्पूर्ण व्यवस्थापनका लागि सैद्धान्तिक सहमति भइसकेको छ । अब सम्झौतामार्फत औपचारिकता दिन मात्रै बाँकी रहेको उनले बताए ।

नगरपालिकासँग समन्वय गरेर केही दिनमा औपचारिकरुपमा सम्झौता गरिने उनको भनाइ छ । केही दिनभित्रै सम्झौता गरेर साउन १ गते उद्घाटन गरेर बसपार्क सञ्चाल गर्ने तयारी भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको २० हजार हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

२८ असार २०८०, बिहीबार १४:०७
नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए […]

सम्बन्धित