‘समयमै न्याय नदिनु न्याय मर्नुसरह हो’

सदरलाइन संवाददाता २३ असार २०८०, शनिबार १३:४३
 

दाङ : सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पीडितलाई समयमै न्याय नदिनु न्याय मर्नुसरह भएको बताएका छन् । घोराहीमा दाङ जिल्ला अदालतको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधान न्यायाधीश कार्कीले कुनै पनि बहानामा पीडितलाई ढिला न्याय दिनु भनेको न्याय मर्नुसरह भएको बताएका हुन् ।

उनले कुनै पनि बहानामा न्याय सम्पादनमा ढिलाइ गर्न नहुने बताए । मुख्य न्यायाधीश कार्कीले भने, “न्याय सेवा छिटो र छरितो हुनु पर्छ । कुनै पनि बहानामा पीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन । न्याय दिन ढिलाइ गर्नु भनेको न्याय मर्नुसरह हो ।”

प्रधान न्यायाधीश कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको बताए । फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार मुद्दालाई वर्गीकरण गरेर अदालतमा आउने मुद्दाको सम्पादन गर्ने कार्य भइरहेको भन्दै उनले यसले अदालतमा हुने ढिलासुस्तीलाई हटाउन भूमिका खेलेको बताए ।


फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार मुद्दालाई तीन प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई छ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई एक वर्षभित्र र जटिल वा विशेष प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भइरहेको बताए । अदालतले दुई वर्ष बढी म्याद नाघेका मुद्दालाई सक्नुपर्ने अभियान चलाएपछि अहिले जिल्लादेखि सर्वोच्च अदालतसम्म अधिकांश मुद्दा टुङ्गिएको भन्दै अब अदालतमा कुनै पनि मुद्दाहरू लामो समयसम्म नरहने बताए ।

उनले भने, “अदालतमा परेका मुद्दामा फैसला गरेर एउटालाई जिताउनुभन्दा दुवै पक्षलाई जित हुने गरी मेलमिलापमा जोड दिनु पर्छ । त्यसका लागि न्यायाधीश र वकिलहरूले पहल गर्नु पर्छ ।”

दाङ जिल्ला अदातलको ८७ कोठे भवनको लागत २५ करोड १९ लाख ८८ हजार नौ सय तीन रुपियाँ २१ पैसा रहेको छ । सुविधासम्पन्न भवनमा दुई वटा लिफ्ट, अन्डरग्राउडसहित पाँच तला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्दै

२३ असार २०८०, शनिबार १३:४३
दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने […]