कैलालीका भूमिहीनलाई जग्गाधनी बनाईंदै

सदरलाइन संवाददाता १९ असार २०८०, मंगलवार १२:४७
 

कैलाली : कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम शुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम शुरु गरेको हो ।

छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही आइतबारबाट वडा नम्बर ४ मा जग्गा नाप नक्साको काम शुरु भएको छ । नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले वडा नम्बर ४, मैतुवा गाउँका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि जग्गा नाप कार्य शुभारम्भ गरिएको बताए ।

नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १२, ११, ४ र १ मा जग्गा नाप नक्साको काम सकेर लालपुर्जा वितरणको प्रक्रिया थाल्ने जनाएको छ । त्यस्तै बर्दगोरिया गाउँपालिकाले पनि भूमिहीनहरूलाई लालपुर्जा वितरण शुरु गरेको छ । शनिबार लालपुर्जा वितरण कार्यक्रमको शुभारम्भ गर्दै पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर ३ का ६ जनालाई पुर्जा वितरण गरेका हुन् ।


पालिका अध्यक्ष कुँवरले वडा नम्बर ३ मा पहिलो चरणमा रातो फारम भरेका मध्ये सरकारले उपलब्ध गराउने जग्गा नलिई आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहने व्यक्तिलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताए ।

अध्यक्ष कुँवरले भने, “रातो फारम भरेर सरकारी मापदण्डका आधारमा जग्गा लिन चाहनेहरूको व्यवस्थापन भूमि आयोगमार्फत सङ्घीय सरकारले गर्ने छ, तर आफूले उपभोग गरेको जग्गा मात्रै लिन्छौँ भन्नेहरूलाई आयोगमार्फत सिफारिस गर्ने काम भइरहेको छ ।”

पुर्जा पाउनेमा वडा नम्बर ३ का रामबहादुर नेपाली, नन्दकला खत्री, गौरी दमाई, मिलन ओली, अम्मरबहादुर विश्वकर्मा र रमादेवी विश्वकर्मा छन् । उनीहरूलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा पुर्जा हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती प्रादेशिक अस्पतालमा दुरविन विधिबाट अप्रेशन सेवा शुरु

१९ असार २०८०, मंगलवार १२:४७
दाङ : दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालबाट दुरविन विधिबाट अप्रेशन सेवा शुरु भएको छ । अस्पतालबाट पहिलो पटक गत असार ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ३० वर्षीया चन्द्रकला महराको पित्त थैलीमा रहेको पत्थरीको दुरविन विधिबाट अप्रेशन गरि निकालिएको थियो । त्यसैगरी असार १८ गते दोस्रो पटक […]

सम्बन्धित