राँझा–राजापुर लोकमार्गका लागि बजेट विनियोजन

सदरलाइन संवाददाता ११ असार २०८०, सोमबार १४:०१
 

नेपालगञ्ज : लुम्विनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर नगरपालिका जोड्ने राँझा–राजापुर (बाँके–बर्दिया) मध्यमार्गी लोकमार्ग अन्तर्गत आगामी आर्थिक बर्ष २०८०–८१ मा बाँके र बर्दिया दुबै तर्फबाट सडक निर्माणको काम सुरु गर्न बजेट विनियोजन भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय बाँके अन्तर्गत राँझा–राजापुर मध्यमार्गी लोकमार्गको राँझा चोकदेखि गुरुवागाउँ–गिजरा–ईगाउँ खण्डका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, राँझा–राजापुर मध्यमार्गी लोकमार्ग बर्दियाको दौलतपुरघाटदेखि सैजनाघाट पर्सेनीबजार सडकखण्ड निर्माणका लागि सडक पूर्वाधार कार्यालय बर्दियाका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


यो सडक निर्माण भएमा बाँके र बर्दियाका दर्जन स्थानीय तहका हजारौंलाई यातायातको सहजता हुने देखिन्छ । बाँके ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेश सांसद रत्न खत्रीले यो सडक बाँके र बर्दियाको भित्रीवस्तीका हजारौं बासिन्दाका लागि आवश्यक भएको बताए ।

प्रदेशसभा सदस्य खत्रीले भने, ‘यो मार्गले नेपालगञ्ज विमानस्थलदेखि बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न थप सहजता हुन्छ, ग्रामीण वस्तीमा कालोपत्रे सडकको पहुँच पनि पुग्नेछ ।’

स्थानीय शासनका जानकार मिनबहादुर मल्लले बाँके र बर्दिया जोड्न नयाँ सडक निर्माणको योजना आउनु आफैमा सकारात्मक भएको बताए । करिब एक सय किलोमिटर लामो सडकका लागि छुट्टाइएको बजेट न्यून भएको भन्दै उनले यसलाई राजनीतिक स्टन्टको रुपमा नभई निर्माण सम्पन्न गर्नेगरी प्राथमिकता दिनुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट ट्रकसहित १७ लाख बढीको अवैध खाद्यान्न बरामद

११ असार २०८०, सोमबार १४:०१
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले एउटा ट्रकसहित भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको तेल र चिनी बरामद गरेको छ । बाँके प्रहरीको टोलीले सोमवार राती नेपालगञ्ज १२ कोरियनपुरबाट भन्सार छलेर ल्याइएको ३ हजार किलो चिनी, ३ हजार लिटर स्वायबिन तेल, ५० पोका सुपरपावर सुर्तीसहित भे १ ख ३३४८ नम्बरको […]